अमेरिकामा समाजको नेतृत्व हत्याउन कार्यक्रम

Nayabimarsha (Weekly Newspaper from Nepal)

अमेरिका/ नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि लिगलिगे दौड शुरु भएको छ । यसक्रममा अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।
डिसेम्बर १ मा हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा पत्रकार सम्मेलन गरिएको थियो । कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट सुझाव लिएको थियो । भण्डारीसहित उनको समूहका अन्य उम्मेदवारहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली समाज विश्व मानचित्रमा एक गौरवमय संस्था भएको बताउँदै यसले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको स्मरण गराउनुभयो । मन्दिर निर्माणमा जनसहभागिता बढाउने, ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्ने, एनएसटीलाई छाता संगठनको रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कोषलाई प्रभावकारी बनाउने र अमेरिकी सरकारी निकायसँग समन्वय बढाउने जस्ता योजना आफ्नो समूहले अघि बढाएको उहाँले बताउनुभयो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार डा. चण्डी भण्डारीले आफ्नो समूहमा देशलाई सेवा गरेका कर्मठ साथीहरु रहेको तथा जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू सामाजिक सञ्जालमा प्रचारप्रसारमा भन्दा काममा विश्वास गर्ने बताउनुभयो । त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले नेपालदेखि नै आफू सामाजिक कार्यमा सक्रिय रहेको दाबी गर्नुभयो ।
सो अवसरमा यूएस खबरका प्रधान सम्पादक ओम आचार्यले टेक्सासमा बढ्दो आत्महत्याको घटनालाई गम्भीर रूपमा लिन, परामर्शदाताको व्यवस्था गर्न, मिडिया र एनएसटीबीचको सम्बन्ध सुधार्न तथा क्रिकेट स्टेडियमको समस्या समाधान गर्न सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चण्डी भण्डारी, उपाध्यक्ष पदका उम्मेदवार गुन्जन भण्डारी, महिला उपाध्यक्ष पदका उम्मेदवार राधिका खराल, सचिव पदका उम्मेदवार सुशील बर्तौला र कोषाध्यक्ष पदका उम्मेदवार भोला मैनालीको उपस्थिति थियो । यसैगरी सह–कोषाध्यक्ष पदका उम्मेदवार रिनजिङ्ग लामा, युवा तथा विद्यार्थी संयोजक आदर्श भण्डारी, खेलकुद संयोजक उजित अधिकारी, महिला संयोजक पदका उम्मेदवार यमुना थापा, कार्यकारी सदस्य पदका उम्मेदवारहरूमा प्रकाश नेपाल, रमेश थापा, अर्जुन बम, कृष्ण प्रसाई र उत्पल खड्का लगायतका सदस्यहरूको उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *