हेटौंडा/ नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त तराई (मधेश) को यात्रामा हुनुहुन्छ । गत भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै गएको छ । यसबीचमा कांग्रेसको केन्द्रीय कार्यसमितिले यही पुस २६–२८ गते पार्टीको १५ औं महाधिवेशनको मिति पनि तय गरेको छ ।
नेपाल महिला संघको सफल नेतृत्व गरिसक्नुभएकी पन्त पार्टीमा केन्द्रीय सदस्यको भूमिका पनि प्रभावकारी ढंगले निर्वाह गर्दै आउनुभएको छ । यसैगरी पछिल्लो समय १५ औं महाधिवेशनको मितिका सन्दर्भमा स्पष्टरुपमा निर्धारित मितिमा नियमित महाधिवेशनको पक्षमा उहाँले अडान राख्नुभएको थियो । उहाँसहित २८ जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए ।
महाधिवेशनको मिति तोकेपछि उहाँ आफ्ना गतिविधिलाई मधेश केन्द्रित गर्दै हिंड्नुभएको छ । आगामी महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी उहाँको रहेको बताइएको छ । यसकालागि अवस्था बुझ्न उहाँले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, धनुषा लगायतका जिल्लाको भ्रमण पूरा गर्नुभएको छ । मधेश कांग्रेसको आधारभूमि भएकाले शीत लहरका बावजुद पनि आफू मधेश यात्रामा रहेको बताउनुभएको छ । ‘मधेश नजागी कांग्रेस ब्युझँदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन,’ भन्ने नारासहित आफू तराईका जिल्लामा निस्किएको जानकारी उहाँले गराउनुभएको छ ।
पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । कांग्रेसले मधेशलाई ‘भोट बैंक’ को रूपमा मात्र नभई ‘विचारको केन्द्र’ का रूपमा हेर्नुपर्नेमा उहाँको जोड छ ।
कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनुपर्नेमा उहाँले जोड दिने गर्नुभएको छ ।
तराईमा जनमत बुझ्दै डिला
Facebook Comments Box
