डा. राउतले राजनीतिबाट सन्यास लिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सि.के.) राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नु भएको छ । २०७९ को निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन जितेर संसदीय राजनीतिमा उदाउनु भएका राउत ३ वर्षमै मधेशको राजनीतिबाट विस्थापित बन्न पुगेपछि राजनीतिलाई छाडेर जनताको सेवाबाट अलग बन्ने अवस्था आएको हो ।
२०७९ को निर्वाचनमा ५ सिट प्राप्त गरी राष्ट्रिय दल बनेको जनमत पार्टी २०८२ फागुन २१ को निर्वाचनमा एक सिट पनि प्राप्त गर्न नसकी सटर बन्द गर्ने अवस्थामा पुगेको हो । डा. राउतलाई सप्तरी २ बाट रास्वपाका उम्मेदवार रामजी यादवले पराजित गर्नु भएको हो । मधेशी जनताको नाममा सत्ताको भ¥याङ चढेर आफ्नो स्वार्थपूर्ति गर्दै आएका जनमत पार्टी लगायत अन्य राजनीतिक दलहरु पनि फागुन २१ को निर्वाचनमा पराजित बन्न पुगेका छन् ।
मधेश आन्दोलनको नाममा उदाएका क्षेत्रीय दलहरु जनता समाजवादी दलका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक पार्टी (लोसपा) राजेन्द्र महतोलगायतका दलहरुको सटर पनि यो निर्वाचनले बन्द गरिदिएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर राष्ट्रियसभामा सिट सुरक्षित गरे पनि उनको पार्टीका शरतसिंह भण्डारीलाई पनि जनताले पत्याएनन् ।
यसबाहेक राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष राजेन्द्र महतो र नयाँ शक्ति समाजवादी पार्टीलाई नेकपामा विलय गराई चुनाव लडेका महेन्द्रराय यादव पनि चुनावमा पराजय भै अस्तित्वविहीन बन्न पुगेका छन् ।
उता, थारु आन्दोलनको नाममा संसदीय राजनीतिमा उदाएका रञ्जिता श्रेष्ठ चौधरीको पार्टी नागरिक उन्मुक्ति र श्रीमान्–श्रीमतीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीको हावाहुरीले बढारेको छ ।
यसरी २०७९ सालको निर्वाचनमा उदाएका दलहरुको नाम र अस्तित्व समाप्त हुँदा पूर्वमा हर्क साम्पङको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ४ सिट जितेर प्रतिनिधिसभामा पाँचौ ठूलो दल बन्न पुगेको छ । हरेक निर्वाचनमा उदाउने गरेका नयाँ पार्टीले भविष्यमा जनताका समस्या र मागलाई कसरी सम्बोधन गर्ने हुन त्यो भविष्यले बताउने छ । ५ वर्षलाई मधेशी जनतालाई मोहरा बनाएर स्वार्थपूर्ति गर्दै आएका मधेशवादी दलहरुको बार्गेनिङबाट मुलुकले छुटकारा पाएको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *