काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा विडारी गत चैत्र ८ गतेबाट अवकाश भएका छन् । सचिव शर्मालाई भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री माधव चौलागाईलगायत मन्त्रालय, विभाग र मातहत कार्यालयका उच्च पदस्थ कर्मचारीहरुले विदाइ गरेका थिए । भौतिक पूर्वाधार मन्त्रालयमा सब–ओभरसिएर पदबाट जागीर शुरु गरेका शर्माले ३५ वर्ष जागिर खाएर अवकाश भएको बताइएको छ ।
सडक विभागको महानिर्देशक हुँदै सचिव पदमा बढुवा भएपछि साढे २ वर्ष बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भै उनले काम गरेका थिए । सचिव शर्मामाथि केही वामपन्थी सुपरिटेण्डेन्ट इन्जिनियरलाई काखी च्यापी राम्रो र आकर्षक ठाउँमा पठाएको आरोप लागेको छ । तात्कालिन नेकपा (माओवादी) हाल नेकपाका नेता नारायणकाजी श्रेष्ठको पालामा मन्त्रालय भित्रिएका सचिव शर्माले नेकपा (एमाले) बाट मन्त्री बनेका देवेन्द्र दाहाल लगायतका मन्त्रीहरुको समयमा प्रभावकारी भूमिका खेलेको र हावी भएको आरोप पनि लागेको छ ।
यतिबेला भौतिक मन्त्रालयको जिम्मेवारी प्रशासन प्रमुख बलराम रिजालले सम्हालेका छन् । सम्भवतः आजै मन्त्रालयले नयाँ मन्त्री पनि पाउने छ । मन्त्री आए पनि मन्त्रालय सचिवविहीन बनेकाले अब आउने सचिव को भन्ने चर्चा चलेको छ । जानकारहरुका अनुसार आगामी २०८३ भाद्र–आश्विनतिर अनिवार्य अवकाश हुन लागेका हालका शहरी विकास सचिव गोपाल सिग्देलको र हाल खानेपानी मन्त्रालयमा कार्यरत सचिव विश्ववाबु पुडासैनीको चर्चा चलेको छ । सचिव सिग्देल पनि सडक विभाग र मन्त्रालयका बारेमा राम्रो जानकार मानिन्छन् । सचिव सिग्देललाई तात्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हटाएपछि विभिन्न ठाउँ हुँदै शहरी विकाश मन्त्रालयमा कार्यरत छन् ।
त्यसो त यस अगाडि नै सचिव शर्मालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरी आउने रणनीतिमा लागे पनि सफल हुन नसकेका सचिव पुडासैनीको पनि व्यापक सम्भावना रहेको जानकारहरुले बताएका छन् । मन्त्रीको प्राथमिकतामा को पर्ने हुन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।
भौतिक सचिव शर्माको अवकाश, अब को ?
Facebook Comments Box
