मन्त्री साहको बहिर्गमनले मेहतालाई तनाव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई हिजो विहीबार पदमुक्त गरेका बताइएको छ ।
यसअघि, रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका बताइएको छ । पत्रमा ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपककुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारबाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँदछु । यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ ।’ उल्लेख भएको जनाइएको छ ।
यसैगरी ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु ।’ पत्रमा उल्लेख गरिएको छ ।
मन्त्री साहको बहिर्गमनका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता पनि तनावमा परेको बताइएको छ । नर्सको रुपमा कार्यरत मेहता समानुपातिक सांसद बनी मन्त्री बनेकी हुन् । उनको कार्यशैलीलाई लिएर सभापति लामिछानेले सचेत गराउन भनेको अवस्थामा मेहतामाथि पनि खतराको घण्टी झुण्डिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *