‘बिर्सुँ कसरी ……..’ सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुँ कसरी …..’ को म्युजिक भिडियो मोतीराज खनालको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ । सानुको सम्झनामा तयार गरिएको यो गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति प्रस्तुत गरेको बताइएको छ । गीतमा चर्चित गायक मोतीराज खनाल र लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर श्वरले भावनालाई अझ सशक्त बनाएको छ ।
गीतका शब्द नवराज गौतमकै रहेका छन् भने संगीत गायक मोतीराज खनालले तयार गरेका हुन् । संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको यस गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम सम्हालेका छन् ।
गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुंगाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टिना शाह, सरिता कुवर, सिद्धार्थ कँडेल, साइब्रिना थिङ, विक्रम थापा, लक्ष्मण खड्का लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
‘बिर्सुँ कसरी’ म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक तथा कोरियोग्राफर देवेंद्र कुँवरले गरेका हुन् । छायांकन दीपक गिरी र सम्पादन राजेश कुमारको रहेको छ ।
यस गीतको कथाबस्तु नवराज गौतमको वास्तविक जीवनमा घटेको एक दर्दनाक घटनामा आधारित रहेको बताइएको छ । अत्यन्तै प्रेम गर्ने जोडी पारिवारिक दबाबका कारण छुट्टिन बाध्य हुन्छन् । परिस्थितिले असहनीय मोड लिँदा नवराजकी प्रेमिकाले अन्ततः जीवन त्याग्ने कठोर निर्णय गर्छिन्, जसले नवराजको जीवनमा कहिल्यै नमेटिने घाउ बनेर बसेको छ ।
उक्त पीडा, सम्झना र विछोडको भावनालाई ‘बिर्सुँ कसरी …….’ मार्फत प्रस्तुत गरिएको छ । प्रेममा धनी–गरिब वा भौगोलिक विभाजनले अर्थ नराख्ने सन्देश पनि गीतले दिन खोजेको छ ।
अनुभवी कलाकारहरूको संयुक्त प्रयासमा तयार भएको यो गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ । गायक खनालले पनि यस गीतले श्रोताको मन जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *