बेलकोटगढी र चिम्टेश्वरको प्रबर्द्धनमा नुवाकोट साहित्य पदयात्रा

Nayabimarsha (Weekly Newspaper from Nepal)

बेलकोट्गढी । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको आयोजनामा भएको “आठौँ नुवाकोट साहित्य पदयात्रा–२०८३” सम्पन्न भएको छ। नेपाली साहित्यको उत्थान र स्थानीय पर्यटकीयस्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित उक्त पदयात्रा विदुर नगरपालिकाको बट्टारबाट सुरु भई बेलकोटगढी नगरपालिकाको ऐतिहासिक महत्त्व बोकेको बेलकोटगढी हुँदै धार्मिक तथा प्राकृतिक दृष्टिकोणले प्रख्यात चिम्टेश्वर क्षेत्रमा पुगेर सम्पन्न भएको थियो।

पदयात्राले साहित्यलाई भूगोलसँग जोड्दै स्थानीय पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने एउटा महत्वपूर्ण कडीका रूपमा भूमिका खेलेको आयोजकले संस्थाकी उपाध्यक्ष जानुका दाहालले जानकारी दिईन् । विशेष गरी बेलकोटगढी र चिम्टेश्वरलगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको ओझेलमा परेका पक्षहरूलाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्यका साथ यो पदयात्रा तय गरिएको संस्थाका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिए । पदयात्रामा देशभरका ख्यातिप्राप्त कवि, लेखक तथा स्थानीय स्रष्टाहरू गरी ५० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको उनले जानकारी दिए ।

सहभागीहरूले पदयात्राका क्रममा त्यस क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक गरिमाको अवलोकन गर्नुका साथै सिर्जनाका माध्यमबाट ती स्थानको महिमा गान गरेका थिए। यस किसिमको अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। चिम्टेश्वर क्षेत्रको भ्रमण र अवलोकनपश्चात् एक औपचारिक साहित्यिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा सहभागी स्रष्टाहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए।

कार्यक्रममा रामकृष्ण अमर , लोकहादुर पुडासैनी, भगवती खनाल, प्रमिला परी, सन्तोष भट्ट, मणी घिमिरे, करण तामाङ लगायतका स्रष्टाहरूले कविता तथा गीत वाचन गरेर कार्यक्रमलाई अझ रोचक र जीवन्त तुल्याएका थिए। त्यसै गरी प्रकाश ढुंगाना, दीपक तिवारी, प्रकाश सडौला, श्रीराम श्रेष्ठ, रामप्रसाद चालिसे, रामचन्द्र ढुङ्गेल, सिता तामाङलगायतका व्यक्तित्वहरूले पनि आ–आफ्नो सिर्जनात्मक प्रस्तुति दिएका थिए।

कार्यक्रममा संस्थाले प्रकाशनमा ल्याएको मनका झिल्काहरु नामक मुक्तक सङ्ग्रह विमोचन गरिएको थियो। कार्यक्रममा सहभागीहरुले साहित्यिक पदयात्राले लेखकहरूमा नयाँ परिवेशसँग परिचित गराउन र सिर्जनामा नयाँपन ल्याउन ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *