मुलुक चुनावमा होमिँदैं । दलहरु दौडाहामा । चितवनमा देउवा : कौशलकुमार भट्टराई

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन l होला कि नहोला भन्ने अन्यौललाई चिर्दै स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुई दिनअघि समेत निर्वाचन रोक्ने संभावना रहेको भन्ने अभिव्यक्ति दिए पनि त्यो सत्यमा परिणत हुने संभावना टरेको छ । ओली लगायत केही व्यक्ति तथा राजनीतिक दलहरुले चुनावको मिति पछि धकेलिने भनी हल्ला चलाए पनि पछिल्ला अवस्थालाई ख्याल गर्दा चुनावको विकल्प नरहेको अवस्था देखिएको छ । अझ हिजो बिहीबार चितवनको भरतपुरमा भएको सत्तारुढ गठबन्धनको आमसभाले पनि ओलीको त्यो भ्रमलाई चिर्ने कार्य गरेको छ । उक्त आमसभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुले सम्बोधन गरेका कारण स्थानीय निर्वाचन अन्तिम तयारीमा रहेको प्रष्ट पारेको छ ।

मुलुकमा निर्वाचनको माहौल बनेको अवस्था छ । जताततै चुनावी सभाहरु भैरहेका छन् । कतै घरदैलो कार्यक्रम त कतै कोणसभाहरु देखिने गरेको अवस्था छ । राजधानी काठमाडौंदेखि गाउँ गाउँसम्म निर्वाचनको माहौल देखिएको छ । दशैंको समयमा मानिसहरु गाउँघर आउने गर्ने गरेकोमा अहिले दशैंको जस्तै माहौल गाउँघरमा देखिन थालेको छ ।

चुनावको सन्दर्भलाई लिएर यो अर्थात चितवन जिल्ला अहिले पनि सर्वत्र चासोको अवस्थामा देखिएको छ । सत्तारुढ गठबन्धनले पहिले जुन दलले जहाँ जितेको छ त्यो ठाउँको नेतृत्वको लागि सोही दलले नै प्राथमिकता पाउने भनी बनाएको मापदण्डका कारण चितवनको भरतपुरको प्रमुख यस पटक पनि नेकपा (माओवादी केन्द्र) को भागमा पर्न गयो । चितवनको भरतपुरमा माओवादी केन्द्रको भन्दा कांग्रेसको मत बढी भएको अवस्था तथा यो पटक माओवादी केन्द्रले कांग्रेसलाई सघाउँदा सहज हुने भएको भन्दै चितवन कांग्रेसले भरतपुरको नेतृत्व आफ्नै दलले पाउनुपर्ने अडान राखेका थिए ।

चितवन कांग्रेसको माग व्यावहारिक देखिए पनि उक्त मापदण्डका कारण त्यो संभव हुन सकेन । कांग्रेसले नचाहेर पनि भरतपुरको प्रमुख माओवादी केन्द्रलाई छोड्नुपर्ने अवस्था आयो । कांग्रेसले उपप्रमुखमा चित्त बुझाएर बहुमत बढी वडाहरु आपूmले लिएको छ । यो कांग्रेसको लागि बाध्यता पनि रहेको भनी कांग्रेसका नेताहरुले बताउने गरेका छन् ।

प्रधानमन्त्री देउवा कांग्रेसको सभापतिको हैसियतमा चुनावी दौडाहामा छन् । यस क्रममा बिहीबारको आमसभालाई सम्बोधन गर्न भनी देउवा चितवन आएदेखि राजनीतिक छलफलमा व्यस्त रहेका थिए । भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसले उम्मेदवारी नदिएको अवस्थामा जगन्नाथ पौडेलले कांग्रेसको बागी उम्मेदवार भनी उम्मेदवारी दिएका छन् । उनलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसका नेताहरुले आग्रह गरेका थिए । उनले अटेरी गर्दै उम्मेदवारी दिएको अवस्था छ ।

पौडेलको उम्मेदवारीले गर्दा गठबन्धनलाई नै असर पार्ने कार्य भएकाले पनि यहाँको आमसभालाई सभापति देउवाले विशेष महत्व दिएका हुन् । बुधबार उनी विराटनगरमा भएको आमसभामा सम्बोधन गर्न पुगेका थिए । उनी प्रधानमन्त्रीको हैसियतमा नभई कांग्रेसको सभापतिको हैसियतमा निर्वाचन आयोगको स्वीकृति लिएर चुनावी दौडाहामा छन् । विराटनगरमा सम्बोधन गर्दा उनले गठबन्धन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । विराटनगरमा भएको आमसभामा सत्तारुढ दलहरुको गठबन्धन एकसाथ उभिएका थिए । कांग्रेसजनमा देखिएको विवाद पनि विराटनगरमा साम्य भएको देखिएको थियो ।

विराटनगरमा कांग्रेसको विवाद साम्य भएको अवस्थामा देउवा कांग्रेसका अन्य नेताहरु सहित भरतपुर आएका हुन् । उनले भरतपुरको आमसभालाई सम्बोधन गर्दै गठबन्धन आजको आवश्यकता भनेका छन् । देउवाले कुनै एक ठाउँको कुरालाई लिएर कांग्रेसजनले अड्डी कस्दा त्यसले देशव्यापी रुपमा असर गर्ने कुरालाई चितवनका कांग्रेसजनले बुझिदिनुपर्ने भनी भने । उनले कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बनेकाले देश सही दिशामा संविधानसम्मत तरिकाले अघि बढ्न पाएकाले यो साथलाई कायमै राख्न पनि गठबन्धन आवश्यक रहेको बताए ।

देउवाले संविधानको रक्षाको लागि कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारलाई आगामी निर्वाचनहरुमा पनि कायमै राख्नुपर्ने अवस्था रहेको दर्शाए । उनले अहिलेको अवस्थामा एमालेले ध्वंश बनाएको कुरालाई सही मार्गमा ल्याउनका लागि पनि गठबन्धनबाट ध्वंशकारीलाई धक्का दिनुपर्ने अवस्था रहेको धारणा राखे । उनले यो पटक माओवादी केन्द्रबाट महानगर प्रमुखको उम्मेदवार बनेकी रेणु दाहाललाई विजयी गराएपछि अर्को चुनावमा भरतपुर कांग्रेसले लिने गरी कुरा बढाउने आश्वासन पनि दिए ।

यसैगरी आमसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा गठबन्धनमा रहेका दलका मतदाताले गठबन्धनलाई जिताउने आशा र विश्वास व्यक्त गरे । उनले विगतको भन्दा मतान्तर फरक पारी गठबन्धनले विजयको माला पहिरिने भनी विमानस्थलमा प्रतिक्रिया दिएका थिए । दाहालले मुलुकलाई शान्तिमार्गमा ल्याउनका लागि कांग्रेस र माओवादी केन्द्रको प्रमुख भूमिका रहेको स्मरण गर्दै उनले गठबन्धनलाई बर्षौसम्म साथ लान तयार रहेको बताए । उनले अघिल्लो निर्वाचनमा कांग्रेसजनले माओवादी केन्द्रलाई मत दिन आनाकानी गरेका कारण आफूले त्यो बेला गठबन्धन टुटाउन बाध्य भएको भन्दै अबको दिनमा गठबन्धनलाई साथै लगेर मुलुकलाई धरापमा पार्न चाहने शक्तिलाई ठेगान लगाउनुपर्ने धारणा राखे ।

सोही सभालाई सम्बोधन गर्न भनी भरतपुर आएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले पनि गठबन्धनलाई टुटाउन खोज्ने तत्वहरु सक्रिय रहेकाले यो बेला सबै सतर्क हुनुपर्ने धारणा राखे । उनले गठबन्धनको आफ्नै बाध्यता भए पनि मूल उद्देश्यप्राप्तीका लागि एकजुट भएर प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बेला आएको बताए ।

सो आमसभालाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए ।

भरतपुरमा देखिएका दृश्य

बिहीबारको आमसभास्थल बुधबार नै तयारी अवस्थामा राखिएको थियो । उक्त आमसभास्थलमा गठबन्धनमा सामेल दलहरुका झण्डा तथा मञ्च पनि बनाइएको थियो । बुधबार राति परेको पानीका कारण सो क्षेत्रमा पानी जम्न पुगेको थियो । त्यसैले बिहीबार विहानैदेखि सभास्थलमा रहेको पानीलाई बाहिर निकाल्ने तथा डोजर लगाएर मिलाउने कार्य भएको थियो । यसैगरी मञ्चको पनि व्यवस्थापन फेरि गरिएको थियो ।

उता, सभास्थल त्यस्तो देखिए पनि बिहीबारको राजनीतिक माहौल कस्तो होला भनी भरतपुरमा चासो छाएको थियो । कांग्रेसबाट बागी उम्मेदवार भनिएका जगन्नाथ पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई होटलमा आई भेटेका थिए । वरिष्ठ नेता पौडेलले जगन्नाथ पौडेलसहितको टोलीसँग भेटी अझै पनि उम्मेदवारी फिर्ता घोषणा गरी कांग्रेसको निर्देशन बमोजिम हिंड्न सुझाएका थिए । उनले बागी उम्मेदवारीका कारण एमालेलाई मात्र केही मात्रामा सहयोग पुग्ने भन्दै अहिलेको परिस्थितिलाई बुझिदिन आग्रह गरेका थिए । वरिष्ठ नेता पौडेलको आग्रहपछि पनि जगन्नाथ पौडेलको टोलीले यो अवस्थामा उम्मेदवारी फिर्ता गर्न नसकिने बताएका थिए । उनले कांग्रेसको रक्षार्थ आफूहरुले उम्मेदवारीलाई कायम राख्नुपरेको धारणा राखेका थिए ।

यसैगरी भरतपुरमा देखिएको अर्को रोचक दृश्य भने केही कांग्रेसजनमा विभाजित मानसिकता हो । कांग्रेसका केही व्यक्तिहरु जगन्नाथको पक्षमा उभिएका छन् भने अधिकांश कांग्रेसले लिएको नीतिलाई मानेर अघि बढ्नुपर्ने पक्षमा रहेको देखिएका थिए । कांग्रेसको यो नीति चितवनको हकमा घातक भएको भन्ने केही मानिसहरु भने जगन्नाथलाई उचालेर हिंडेको कांग्रेसका स्थानीय कार्यकर्ता तेजप्रसाद कँडेल बताउँछन् ।

हिजोको आमसभाका कारण चितवनका नेता कार्यकर्तालाई कांग्रेसको निर्देशनमा हिंड्न दबाब परेको छ । उनीहरुमा व्यक्तिको भन्दा पनि दलको पछि लागेर हिंड्नुपर्ने दबाबमा परेको आभाष पाइन थालेको छ । गठबन्धनको विरोधमा रही आफ्नो धारणा राख्ने गरेका कांग्रेसका अधिकांश स्थानीय नेता तथा कार्यकर्ताहरु पछिल्लो समय आफ्नो धारणा त्याग्दै दलको निर्देशनमा लाग्न थालेका बताइएको छ ।

चितवनका कांग्रेसीले दाहाललाई खेरे

चितवनमा हिजो भएको आमसभामा चितवनका कांग्रेसी नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई खेरेका छन् । यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले साथ दिंदा भरतपुर महानगरमा प्रमुख जित्न सकेको माओवादी केन्द्रले तीन महिनामै कांग्रेसलाई धोका दिएर त्यो बेला सरकारमा रहँदै एमालेसँग पोइला जाने निर्णय गरेको भनी चितवनका कांग्रेसी नेताहरुले आफ्नो आक्रोश पोखे । उनीहरुले दाहालले अबका दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरेका खण्डमा मात्र चितवन कांग्रेसले माओवादी केन्द्रका तर्पmबाट उम्मेदवार बनेकी रेनु दाहाललाई जिताएर देखाउने बताए । उनीहरुले माओवादी केन्द्रका अध्यक्षले कांग्रेसले लगाएको गुनलाई विर्सिएर धोका दिएकाले चितवनका कांग्रेसी चिढिएको पनि बताए ।

माओवादी केन्द्र वा अध्यक्ष दाहालले त्यस्तो प्रतिबद्धता गरेमा चितवन कांग्रेसले भरतपुरमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने पनि उनीहरुले दाबी गरे । चितवन कांग्रेसले केन्द्रको निर्देशन मान्ने कुरामा ढुक्क हुन आग्रह गर्दै नेता जितनारायण श्रेष्ठले भने, ‘हाम्रो आक्रोश केन्द्रको निर्णय हुनुभन्दा पहिलेको हो । केही साथीहरु अझै पनि निर्णयको विरुद्धमा देखिए पनि अबका दिनमा ती साथीहरुले पनि केन्द्रको निर्देशनलाई आत्मसात गर्ने विश्वास लिएको छु ।’

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *