मध्यरातमा उम्मेदवारको गाडी नियन्त्रणमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

गुल्मी l  मौन अवधि चलिरहेको अवस्थामा मदिरा र पैसासहित गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

नेकपा (एमाले) का तर्फबाट गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको उम्मेदवार कृष्णबहादुर भुसालको गाडीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका हुन् । उनलको गाडीमा मदिरा र पैसासमेत फेला परेकाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका बताइएको छ ।

भुसालले प्रयोग गर्ने बा१५च १३२९ र प्र.३.०१.०२३च७९३० नम्बरको गाडी गुल्मीदरबार वडा नं. ६ हटियामा रातीको ३ बजेको समयमा स्थानीयले नियन्त्रणमा लिएको बताइएको छ । सो गाडीमा मदिरा, पैसा र रडहरूसमेत रहेकोे बताइएको छ । बा१५च को सवारी अध्यक्षका उम्मेदवार भुसाल र प्र.३.०१.०२३च७९३० नम्बरको सवारी निर्वाचन प्रतिनिधि राज शाहीले प्रयोग गरिरहेका थिए ।

भुसालको निर्देशनमा रातीको समयमा वडा नं. ५ को भरुवा भन्ने स्थानमा निर्वाचन आचारसंहिता विपरित भोज भतेर गराइएको पनि हाम्रा सम्वाददाता अमृता अर्यालले जनाएकी छन् । उनले विपन्न नागरिकलाई प्रलोभनमा पार्न रकम वितरण गरेको आरोप लागेको बताइएको छ ।

यसैबीच नेपाली कांग्रेसका गुल्मीदरबारका सभापति प्रेमबहादुर पुनले एमालेका उम्मेदवार भुसालले आफूले हार्ने निश्चित भएपछि निर्वाचन आचारसंहिता र निर्वाचनको मौन अवधिको उल्लंघन गरेको आरोप लगाएका छन् । विपन्न नागरिकलाई प्रभावमा पार्न रातको समयमा रकम बाँड्न र भोजभतेर गराउन आफ्नो सवारी साधन र कार्यकर्ताहरू परिचालन गरी भुसालले निर्वाचनको आचारसंहिताको धज्जी उडाएको दाबी पुनले गरेका छन् ।

कांग्रेस गुल्मीदरबार गाउँपालिकाका अध्यक्षका उम्मेदवार सरोज थापा र उपाध्यक्ष पदका उम्मेदवार तारा थापाले निर्वाचनको वातावरणलाई असर पर्ने खालका क्रियाकलापलाई तुरुन्त बन्द गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनलाई अनुरोध गरेका छन् । गुल्मीदरबार गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले अत्यधिक मतसहित विजय हासिल गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *