लोसपाको भाउ बढ्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर / ‘भाइ फुटे, गँवार लुटे’ भन्ने भनाइ जस्तै अवस्थामा जनता समाजवादी पार्टी पुगेको छ । जसपामा नेतृत्व विवाद भएका कारण पछिल्लो समय त्यसको फाइदा भने तराई मधेश केन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पाएको छ ।
जसपाको दुवै पक्ष अर्थात् बाबुराम भट्टराई र उपेन्द्र यादवले आफ्नो दलको एकतालाई कायम राख्नुको सट्टामा बरु महन्थ ठाकुरको नेतृत्वमा रहेको लोसपासँग एकीकरणको प्रस्ताव गर्न थालेको समाचार स्रोतले जानकारी दिएको छ ।
केही दिनअघि अध्यक्ष यादव जनकपुर गएको बेला उनले सार्वजनिक रुपमै एकीकरण गर्न ठाकुरसँग आग्रह गरेका थिए । त्यसको केही दिनमै भट्टराईले ठाकुरसँग भेटेर आफ्नो समूहसँग एकीकरण गर्न आग्रह गरेका पनि समाचार स्रोतले जानकारी दिएको छ । जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा दुवै पक्षधरले आफ्नो पक्षलाई सबल पार्न लोसपालाई मनाउन लागि परेको समाचार स्रोतले जानकारी दिएको छ ।
भट्टराई पक्ष जसपामा दुईजना अध्यक्ष हुने व्यवस्थालाई लागू गरिनुपर्ने पक्षमा देखिएको छ । यसैगरी दुईजना अध्यक्ष राख्नुपर्ने भएमा महन्थ ठाकुरलाई अर्को अध्यक्ष दिएर भट्टराई पक्षलाई कमजोर बनाउने पक्षमा यादव लागेको पनि दाबी गरिएको छ । सोही कारण जसपा अहिले विभाजनको संघारमा पुगेको छ ।
जसपालाई आफ्नो समूहको कब्जामा पार्नका लागि बहुमत जुटाउन दुवै पक्ष लागि परेका छन् । अहिलेसम्म यादव पक्ष नै बहुमतमा रहेका कारण भट्टराई पक्ष बरु दललाई विभाजन नै गर्नुपरे पनि गर्ने मनस्थितिमा पुगेको बताइन्छ । केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाइने कानूनी पक्षको मद्दत लिने पक्षमा भट्टराई पक्ष पुगेको बताइन्छ ।
भट्टराई पक्षसँग संसदीय दलमा ४० प्रतिशत पुगिसकेको बताइन्छ । केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन भट्टराई पक्षले गृहकार्य गरिरहेको बताइन्छ । लोसपाका शीर्ष तहका नेताहरु यादव पक्षसँग एकीकरण नगर्ने पक्षमा रहेका कारण पनि भट्टराई पक्षले पहिले लोसपासँगको एकीकरणको कुरा टुंग्याउन चाहेको बताइएको छ ।
लोसपा भने पर्ख र हेरको अवस्थामा रहेको बताइन्छ । जसपामा विभाजन आएमा मात्र एकीकरणको कुरा अघि बढ्न सक्ने भन्ने बुझाइमा लोसपाका नेताहरु रहेका छन् । उपेन्द्र यादवसँगको मनमुटाव महन्थ ठाकुरको कायमै रहेका कारण पनि लोसपाको शीर्ष तह यादव पक्षसँग मिल्न चाहिरहेको छैन । कार्यकर्ताहरु भने भट्टराई पक्षसँग नेताहरुमात्रै रहेको तर जनाधार नरहेको भन्दै यादव पक्षलाई महत्व दिन चाहिरहेका पनि समाचार स्रोतले जानकारी दिएको छ ।
उता, यी दलको विवादको विषयलाई नेपाली कांग्रेसले पनि विश्लेषण गर्दै रहेको बताइन्छ । वामपन्थी दलहरू एक भए भने लोसपासँग तालमेल गरी लोकतान्त्रिक शक्ति निर्माण गर्ने पक्षलाई कांग्रेसले पनि जिवित राखेको अवस्था छ ।
कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष ठाकुरलाई विशेष महत्व दिंदै भेटवार्तालाई बढाइ रहेका कारण ठाकुर कांग्रेसप्रति पनि नजिक बनिरहेका बताइएको छ । लोसपाले उठाएका माग पूरा गर्ने आश्वासनसमेत देउवाले दिएका कारण ठाकुरले कांग्रेसलाई नै विशेष महत्व दिने गरेको पनि समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *