स्वास्थ्यको ख्यालबारे समयमै सोचौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

पछिल्ला दिनमा देशभर कोरोना भाइरसका पाँच सय जना बढी नयाँ संक्रमित थपिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको संख्यामा बढोत्तरी भएको पाइएको हो । कोरोना भाइरस संक्रमणका कारण मृत्यु समेत हुन थालेको अवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको संख्याभन्दा बढी संख्या संक्रमित हुनेहरुको हुन थालेको छ । हाल देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या करिब चार हजार पुगेको अवस्था छ ।
कोरोना भाइरसको संक्रमण फेरि बढ्नुमा भीडभाड बढ्नु हो । विश्वव्यापी रुपमा यसको संक्रमणको दर बढिरहेको अवस्थामा नेपालमा पनि यसको संक्रमण बढिरहेको पाइएको छ । नेपालको छिमेकी मुलुक भारतमा यसको संक्रमणको दर बढोत्तरी भएसँगै नेपालमा पनि यसको बढोत्तरी भएको देखिन्छ । नेपालमा यसरी संक्रमण फैलनुमा नेपालीजनले रोकथामको लागि आफूलाई अलि खुला गर्नु रहेको देखिन्छ । नेपालमा अलिहे पहिलेको जस्तै अवस्थामा सबैजसो क्षेत्र तथा व्यवसायहरु खुलेको अवस्था छ । सबै क्षेत्रमा खासै कुनै पनि किसिमको पावन्दी लगाइएको पाइँदैन । संक्रमणको दर घट्दै गएको अवस्थामा नेपालीजनले मास्कको प्रयोगमा समेत कञ्जुस्याइँ गर्न थालेको अवस्था थियो । अहिले पछिल्लो समय काठमाडौं उपत्यकामा समेत मास्क नलगाउनेको संख्या बढ्न थाल्नु दुर्भाग्यको अवस्था हो । काठमाडौंमा जस्तो पनि अन्य ठाउँहरुमा यसको प्रयोग नहुने गरेको देखिन्छ । खासगरी काठमाडौं उपत्यकाभन्दा बाहिरका क्षेत्रहरुमा त मास्कको प्रयोग एकदमै न्यून अवस्थामा भएको पाइन्छ । तराईका जिल्लाहरुमा त मास्कको प्रयोगले स्थान नपाएको धेरै नै भैसकेको अवस्था छ ।
कोरोना भाइरससँगै हालको गर्मीको समयमा नेपालमा विभिन्न रोगहरुले सताउने गरेको पाइन्छ । खेतीको यो समयमा कृषक वर्ग खेतीका लागि निस्कनै पर्ने हुन्छ । यसैगरी घाँसपात, खेतबारीको काममा निस्कँदा ग्रामीण क्षेत्रमा यसको समस्या एक रुपको छ भने काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा फोहोरबाट उत्पन्न हुने रोगहरुले सताउने गरेका छन् । यसैगरी कोरोना भाइरसको संक्रमण पछिल्लो समय बढिरहेको स्थितिमा यसले समस्यामा पार्न सक्ने अवस्था भनी स्वास्थ्यकर्मीहरु चिन्तित बनेको स्थिति छ । यसरी चिन्ता लिनुपर्ने अवस्थामा अबको समय नेपालीजनको चाडबाडको समय हुनु पनि हो । श्रावण महिनाको यो समयमा खेतीपातीमा समय व्यतित भए पनि आगामी दिनमा भने नेपालीजन विभिन्न चाडबाडमा रमाउने अवस्था रहन्छ । यस्तो स्थितिमा स्वास्थ्यमा अलिकति सजकता अपनाउन सकिएन भने यसले विकराल रुप लिन सक्ने अवस्था छ । त्यसैले सरकारी तथा गैह्र सरकारी सबै निकायले स्वास्थ्य क्षेत्रको अवस्थालाई ख्याल गरी यसको रोकथामको लागि पहल गर्नुपर्ने अवस्था छ । यसका लागि सबै क्षेत्रको ध्यान जानु जरुरी देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *