नेपाल आउने यात्रुलाई सहज बनाऊ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नुपर्ने प्रावधानलाई सरकारले हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै यस्तो निर्णय सार्वजनिक गरेको हो । कोभिड–१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिंदै मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाईयात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको जानकारी गराएको हो ।

प्राधिकरणले पनि यो नियमन कार्यान्वयनमा ल्याइसकेको छ । यो नियम हटेसँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले साथमा बोक्नुपर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु पर्ने छैन । नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्ने व्यवस्था भने कायमै रहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड–१९ लाई विश्वव्यापी महामारीबाट हटाएपछि नेपालले पनि यो निर्णय लिएको हो । कोभिडको प्रकोपमा विश्वव्यापी रुपमा कमी आएको कुरालाई ख्याल गर्दै विश्वभरीका मुलुकहरुले यो व्यवस्थालाई खुकुलो गर्दै लगेका छन् । त्यसै क्रममा नेपालले पनि यो विषयलाई खुकुलो बनाएको हो ।

नेपालमा यो व्यवस्था गरिँदा यसले नेपालमा आउने यात्रुलाई सहज हुने देखिएको छ । कार्ड भएको कारण कतिपयले नेपालमा आउन समेत नपाएको स्थिति बन्ने गरेको थियो । विदेशबाट आउने यात्रुले क्यूआर कोड देखाउनै पर्ने खालको व्यवस्था हुँदा उनीहरुले यसलाई असहज रुपमा लिने गरेका थिए । त्यो बेला बनाएको कार्डको भरमा कोभिडको मापदण्ड गरिनु नै अलि अव्यावहारिक जस्तो देखिन्थ्यो । खोप लगाएको प्रमाणको रुपमा लिएका कार्डहरु पछि पनि कतिपयलाई कोराना भाइरस देखिएको थियो । त्यसैले यो व्यवस्था अव्यावहारिक जस्तो देखिएको थियो । त्यसैले नेपालले जस्तै अन्य मुलुकले पनि यस्तो कार्ड पेश गर्नुपर्ने व्यवस्थामा खुकुलोपन ल्याउनु आवश्यक देखिन्छ । अझ नेपालमा त यस्तो कार्ड बनाउने कुराले नकारात्मक अवस्था समेत सिर्जना भइसकेको थियो । कार्ड बनाउनका लागि हजारौं रुपियाँ खर्चिनुपर्ने तथा पहँुच नहुनेल कार्ड समेत नपाउने अवस्था छ । त्यसैले मन्त्रालयको यो निर्णय स्वागतयोग्य देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *