नेपाली उत्पादनको प्रयोग बढाऔं

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

नेपालका किसानहरुले बजारमूल्य नपाएको भन्ने गुनासो बढेको छ । यसैक्रममा कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर गएको आइतबार स्थानीय किसान तथा विक्रैताले विरोध जनाएका छन् । गोलभेँडा किसानहरुले आफ्नो उत्पादन बजारमा खपत नभएको तथा बजारमूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको द्वार तथा बजारको क्षेत्रमा गोलभेँडा फ्याकेर विरोध गरे । नेपालमा उत्पादित गोलभेँडाको खपत कम गराइएको तथा भारतीय बजारको गोलभेंडाको खपत बढाइएको भन्दै किसानहरु विरोधमा उत्रिएका हुन् । गोलभेँडा उत्पादकहरुले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेँडाले बजारमूल्य र प्राथमिकता नपाएको भन्दै विरोधस्वरुप त्यसरी सडकमा फ्याक्न बाध्य भएको बताएका छन् । सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य बस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्तामाझ पु¥याउनुपर्ने बताए । विदेशबाट आयात भएका बस्तुले बजार लिने गरेको भन्दै किसानहरुले गुनासो गरेका छन् । कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग आठ रुपियाँ किलोमा किनेर बजारमा उपभोक्तालाई ४० रुपियाँमा बेच्ने गरेको गुनासो पनि किसानहरुको छ ।
कालिमाटी बजारमा आउने गोलभेंडा स्थानीय रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रमा फलेका हुन् । यसरी आएका नेपाली उत्पादनलाई स्थानीय व्यापारीले खरिद गरिदिएर उपभोक्तालाई पनि सर्वसुलभ रुपमा उपभोग गर्न पाउनुपर्ने खालको वातावरण बनाइनु पर्ने किसानहरुको माग छ । एकातिर विदेशी उत्पादन भित्र्याउने अर्कातिर नेपाली उत्पादन एकदमै सस्तोमा किनेर एकदमै बढी मूल्यमा बेच्ने गरेका कारण पनि नेपालीको भान्छा महगिएको बताइएको छ । नेपाली उत्पादन नेपालीले प्रयोग गर्न चाहेर पनि प्रयोग गर्न नपाउने स्थिति बनेका कारण पनि नेपाली किसान रिसाएका हुन् । आफ्ना उत्पादनको विक्रीलाई प्राथमिकतामा राखिएन भनी नेपाली किसान रिसाए पनि आफ्ना उत्पादन नै सडकमा फ्याल्नु भने गलत रहेको भनी टिप्पणी पनि भैरहेको छ ।
किसानहरुको विरोधको यो स्वरुपलाई नेपाल सरकारले एकदमै संवेशनशील रुपमा लिनुपर्ने हुन्छ । उनीहरुको विरोध प्रतिकात्मक भए पनि त्यसले ठूलो अर्थ राख्ने देखिएको छ । नेपालमा आफ्ना किसानले मेहनत गरेर उत्पादन गरेको चिजलाई मतलब नगर्ने, आप्mना उत्पादनको मूल्य नतोक्ने जस्ता कार्य नेपाल सरकारले गर्न नसक्दा नेपाली किसानहरु मारमा परेका हुन् । त्यसैले नेपाल सरकारले विदेशी उत्पादनलाई निरुत्साहन गर्नुपर्ने कुरा एकातिर छ भने नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने कुरा अर्कातिर छ । नेपाली उत्पादन नेपालीको भान्छामा सहजै पुग्न सके त्यसले नेपालीको भान्छा सस्तो हुने मात्र होइन कि नेपालीले ताजा र आफ्नै किसानको उत्पादन पनि प्रयोग गर्न पाउने थिए । त्यसैले नेपाल सरकारले आफ्ना उत्पादनलाई महत्व दिने प्रयास गरोस् । एकातिर नेपाली भूमि त्यत्तिकै खाली रहने गरेका छन्, अर्कातिर नेपाली उत्पादनले बजार समेत नपाउने पीडा छ । आफ्नो देशको राम्रो उत्पादन सडकमा फ्यालेर विदेशी त्यो पनि विषादीयुक्त उत्पादन नेपालीको भान्छामा पुगिरहेको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *