को को बने मन्त्री ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नयाँ सत्ता गठबन्धनका तर्फबाट नियुक्त भएका १६ मन्त्रीहरुले बुधबार शपथग्रहण तथा पदबहाली गरेका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
२० सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री पुष्पकमल दाहाल छन् । उनीसँगै तीनजनाले सोमबार नै शपथ लिसकेका थिए । प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन् । त्यस्तै पदम गिरी कानून, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
उता, नेकपा (माओवादी केन्द्र) का नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् । वर्षमान पुनले अर्थमन्त्रीको जिम्मा पाएका छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डी.पी. अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।
उता, अन्तिम समयमा नेकपा (एकीकृत समाजवादी) बाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा शहरी विकासमन्त्री बनेका छन् । उनीहरुले बुधबारै पद बहाली पनि गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *