कानूनी र नैतिक संकटमा रवि, शक्ति र डोल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका मन्त्रीहरु सहकारी काण्डमा मुछिएपछि कानूनी र नैतिक संकटमा परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि पोखराको सूर्यदर्शन सहकारीबाट एक करोड ८० लाख रकम खातामा जम्मा भएको घटना सेलाउन नपाउँदै बुटवलको सुप्रीम सहकारीमा पनि मुछिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष समेत रहेका गृहमन्त्री लामिछानेले भ्रष्टाचार गरेको भन्दै काँग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आइरहेको अवस्थामा सरकारले र गठबन्धनमा आवद्ध दलहरुले लामिछानेको बचाउ गर्दै चालु हिउँदे अधिवेशन नै बन्द गरेका छन् । यसैबीच बुटवलको सुप्रिम सहकारीबाट लाखौं बचतकर्ताहरुले खाई नखाई जम्मा गरेको रकमबाट लामिछानेले बिना धितो दुई करोड ऋण लिएको भन्दै सहकारी पीडितहरुले उजुरी दिएपछि रविको मुद्दा थप पेचिलो बनेको छ ।
गृहमन्त्री लामिछानेले गृहमन्त्रालय नपाए सरकार नै छाड्ने धम्की दिएपछि प्रधानमन्त्री दाहालले सत्ता ढल्ने डरले महादेवले सतीदेवीको मृत शरिर बोकेजस्तै बोक्न बाध्य भएका छन् । यता, रास्वपाकै सांसद एवम् श्रम तथा रोजगार मन्त्री डोलप्रसाद (डी.पी.) अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको निक्षेपकर्ता ठगीमा जोडिएपछि रास्वपा नामक पार्टीको मुकुण्डो उत्रिएको छ ।
सहकारी ठगी काण्डमा रास्वपाका सभापति लामिछानेकी श्रीमती निकिता पौडेल पनि मुछिएकी छन् । जि.बी. राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको ठगी काण्डमा ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतको पनि नाम जोडिएपछि माओवादीका नेताहरु कोही सुन काण्ड र कोही सहकारी काण्डमा मुछिएको भन्दै नेताहरुको असली रुप छताछुल्ल भएको छ । मन्त्री बस्नेत र उनकी श्रीमती सत्य पहाडीले सहकारीको अध्यक्ष हुँदा करोडौं ठगीमा उजुरी परेको थियो ।
सरकारले समस्याग्रस्त भनी घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष समेत रहेका मन्त्री डि.पी. अर्याल म्यानपावरका दलाल समेत रहेको समाचार श्रोतले बताएको छ । त्यस्तै, रास्वपाका सहमहामन्त्री बुर्लाकोटी त्यसबेला सञ्चालक भएर बचतकर्ताको रकम ठगी गरेको आरोप लागेको छ । यसरी सहकारी काण्डमा मुछिएपछि मन्त्रीत्रयका कानूनी र नैतिक संकटमा परेका छन् ।
सुप्रीम सहकारीका पीडितहरूले सडक आन्दोलनमार्फत सिंहदरबार घेर्ने बताई रहंँदा रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले छानविन गर्नुपर्ने बताएका छन् ।
रास्वपाका सभापति एवं गृहमन्त्री लामिछानेले बिभिन्न सहकारीबाट गैरकानूनी रूपमा ऋण लिएर गोर्खा मिडियामा लगानी गरी १४ प्रतिशत शेयर लिएको खुलासा भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *