काँग्रेस–एमाले सरकार बनाउन कसरत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत २०८० फागुन २१ गते सत्ता–समीकरण फेरिएर बनेको पाँच दलीय गठबन्धनको सरकार दुई महिना नपुग्दै धरापमा पर्ने सम्भावना बढेर गएको छ । नयाँ समीकरणका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कसरत भैरहेको राजनीतिक वृत्तमा चर्चा चलेको छ । काँग्रेस र एमाले २०४६ सालका सहयात्री दल हुन् । यिनकै आन्दोलनका कारण २०४६ सालमा बहुदल आएको थियो । २०४६ सालदेखि नै काँग्रेस र एमाले मिलेर गएको भए देशमा राजनीतिक अस्थिरता आउने थिएन र सानातिना राजनीतिक दलहरुको उदय पनि पानीको फोकाजस्तै बन्ने थियो भन्नेहरुको जमात ठूलो छ ।

काँग्रेस–एमालेको सत्ता स्वार्थका कारण बहुदल आएको ३५ वर्षमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकोले जनताले परिवर्तन खोज्न थालेको जानकारहरुले बताएका छन् । भोलि हुने इलाम–२ को निर्वाचनपछि काँग्रेस र एमालेबीच सत्ता समीकरणका लागि थप कसरत गर्ने कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले बताएका छन् । कुनै नाटकीय परिवर्तन नभए आगामी जेठ १५ मा ल्याइने बजेट आसपास काँग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेर गएको श्रोतले बताएको छ ।

संसदमा तेश्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी र गरिबीलाई रोक्न नसकेपछि जनतामा व्यापक असन्तुष्टि बढेर गएको छ । प्रधानमन्त्री दाहालले सत्ता टिकाउने बाहेक कुनै परिणाममुखी कार्य गर्न नसकेपछि सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच पटक पटक संवाद र दोश्रो तहका नेताहरुबीच छलफल भै सहमति नजिक पुगेको समाचार श्रोतले जानकारी दिएको छ ।
काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आइरहेको छ ।

गोदावरीमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहकारी ठगी काण्डमा निश्पक्ष अनुसन्धान हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने विषय पारित हुनुले गृहमन्त्री लामिछाने माथि छानविन हुने संकेत गरेको छ ।
काँग्रेसले संसद चल्न नदिए सरकारको नीति तथा कार्यक्रम र बजेट पारित हुन सक्दैन । गृहमन्त्री लामिछानेमाथि छानविन समिति बन्नासाथ वर्तमान सत्ता खल्बलिने पक्का छ । अहिले नै गठबन्धन दलका नेता नेकपा (एस) का अध्यक्ष निहुँ खोजेर पाखुरा सुकिरहेको अवस्था छ । काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि वर्तमान सरकारको आयु किटान गर्नु र नेपालको भूराजनीतिमा बढी चासो राख्ने छिमेकी देश भारतको दबाबमा पनि सत्तासमीकरण बदलिने अवस्थामा पुगेको छ ।

सत्ता समीकरण फेरिएपछि एमाले अध्यक्ष ओलीले काँग्रेस सभापति देउवाबीच दूरी घटेको छ । जुन सत्ता समीकरण अघि ओलीले देउवालाई आफूसँग भेट्न गरेको प्रयास असफल बन्दै आइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *