गृहमन्त्री लामिछानेले गरे काँग्रेसको मानमर्दन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत जेठ ६ गते संसदको रोष्टममा उभिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली काँग्रेसका नेताहरुमाथि तथ्यहीन आरोपहरु लगाउँदै मानमर्दन गरेका छन् ।
लामो समयपछि सहकारी ठगी काण्डको बारेमा आफूमाथि लागेको आरोपको खण्डन गर्न रोष्टममा उभिएका मन्त्री लामिछानेले काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापाविरुद्ध भ्रामक विष वमन गरेको भनी उनको आलोचना भैरहेको छ । काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो नहुने भन्दै आरोप पुष्टि गरेर देखाउन काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र सहमहामन्त्री बद्री पाण्डेले चुनौती दिएका छन् ।
गृहमन्त्री लामिछोनलाई काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन र चितवनको सहारा सहकारीबाट करोडौं रकम अपचलन गरेको आरोप पीडितहरुले लगाएका छन् । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता बारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग काँग्रेसले गर्दै संसद अवरुद्ध गरेको छ ।
गृहमन्त्री लामिछानेले लगाएको आरोपप्रति कार्बाहीको माग गर्दै काँग्रेस उपसभापति धनराज गुरुङले सभामुखलाई पत्र पनि पठाएको समाचार श्रोतले बताएको छ । यता नेकपा (एमाले) का नेता एवम् पूवं गृहमन्त्री भीमबहादुर रावल र नेकपा एकीकृत समाजवादीका सचिव रामकुमार झाँक्रीले पनि आरोप पुष्टि गर्न चुनौती दिएका छन् । झापाको गिरीबन्धु टि–इस्टेटमा भएको अर्बौको भ्रष्टाचारबारे एक शब्द पनि उच्चारण नगरी एकोहोरो काँग्रेसमाथि मात्र खनिएका गृहमन्त्री लामिछानेले काँग्रेसलाई धम्क्याउन र तर्साउन सभापति शेरबहादुर देउवालाई डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको, उपसभापति धनराज गुरुङलाई रातो पासपोर्ट काण्डमा गोविन्दराज जोशीले कारबाही गरेको र महामन्त्री गगनकुमार थापालाई २०५५ सालमा त्रि–चन्द्र कलेजमा पार्क निर्माण गर्दा ३० लाख रुपियाँ भ्रष्टाचार गरेको तथा कृषि अनुसन्धानको रकम बाख्रा पालनका नाममा अपचलन गरेको लाञ्छना लगाएका थिए ।
त्यसबाहेक टेरामक्स काण्डमा सांसद मोहनबहादुर बस्नेत, तात्कालीन प्रधानसेनापति छत्रमान गुरुङको छोराको १४ लाख पर्ने रोल्याक्स घडी चोरेको आरोप सांसद रामहरि खतिवडा, भृकुटी मण्डपको फनपार्कमा भएको भ्रष्टाचारमा सांसद टेकबहादुर गुरुङमाथि घुमाउरो आरोप लगाएर संसदको रेकर्डमा दर्ता गरेका छन् । त्यसबाहेक विदेशीलाई गोप्य सूचना बेचेको, नक्कली भूटानी शरणार्थी काण्ड घटाएको, टीकापुर जग्गा घोटाला काण्डको हवला दिएर काँग्रेस नेतृ आरजु राणालाई मुछेको, बालमन्दिरको जग्गा हिनामिना, बाइडबडी काण्ड र सहकारीमा काँग्रेसकै नेताहरुको संलग्नता लगाएका झटारो हानेका छन् ।
लामिछाने जसरी प्रस्तुत भए त्यसले उनले पदीय मर्यादा ख्याल नगरेको, केटाकेटीपन देखाएको भनी जनस्तरबाट आलोचना भैरहेको छ । उता, कांग्रेसले बैठक नै राखेर लामिछानेले लगाएका आरोपको खण्डमात्र गरेको छैन कि त्यसलाई पुष्टी गर्न चुनौती पनि दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *