भारतमा मोदीलाई झड्का, सशक्त विपक्षी

Nayabimarsha (Weekly Newspaper from Nepal)
नयाँ विमर्श संवाददाता

नयाँ दिल्ली/ सात चरणमा गरिएको भारतीय लोकसभाको निर्वाचन सम्पन्न भएको छ । गत बुधबार जुन ५–२०२४ (२०८१ जेठ २३) मा ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको भारतीय अखबार र टिभी च्यानल आजतक, जी न्यूज आदिले बताएका छन् ।
निर्वाचनको मत परिणाम अनुसार भारतीय जनता पार्टी एक्लैले २४० सिट र भाजपा गठबन्धन एनडीएले २९३ सिट जितेको छ । त्यस्तै काँग्रेस आई एक्लैले ९९ सिट र इन्डिया गठबन्धनले २३३ सिट जितेको छ । बाँकी १८ सिट विभिन्न दलहरुले जितेका छन् । सन् २०१९ को चुनावमा भाजपा (भारतीय जनता पार्टी) एक्लैले ३०३ सिट जितेर बहुमत ल्याएको थियो । यसपालिको चुनावमा भाजपालाई २०१९ कोभन्दा ६३ सिट कम आएको छ । यसपालि काँगे्रस आईको इन्डिया गठबन्धले १३७ सिट बढाएर सशक्त प्रतिपक्ष बनेको छ ।
सन् २०२४ को चुनावमा भारतीय जनता पार्टीलाई ३५० देखि चार सय सिट आउने एक्जिट पोलहरुले सर्वेक्षण गरेका थिए । सर्वेक्षणले हावा खाएको छ तथापि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएका छन् । मोदीलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि इन्डिया गठबन्धनका नेता राहुल गान्धीले विभिन्न प्रयासहरु गरेको समाचार छ । सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएका मोदी सन् २०१९ को चुनावमा चर्चाको शिखरमा पुगेका थिए ।
हिन्दुवादी प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मुस्लिम समुदायहरुका मतदाताले मत नदिएपछि सिट घटेको बताइएको छ । अब मोदीले त्रिशंकु सरकार (गठबन्धन) बनाएर सन. २०२९ सम्म भारतको प्रधानमन्त्री बन्ने प्रयासमा छन् । यसअघि जवाहरलाल नेहरु पनि तीन पटक प्रधानमन्त्री भएको भारतीय न्यूज एजेन्सीहरुले बताएका छन् । अब तेश्रो कार्यकाल मोदीका लागि पहिलो र दोश्रो जस्तो सहज नहुने अनुमान गर्न थालिएको छ किनकी राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताइएको छ ।
तेश्रो कार्यकालका लागि प्रधानमन्त्री मोदीले विभिन्न सुधारवादी कार्यक्रमहरु लिएर अगाडि बढ्ने बताए पनि कतिपयले मोदीको ओरालो यात्रा शुरु भएको बताएका छन् । मोदीको तेश्रो कार्यकालमा नेपाल भारत सम्बन्ध, सिमा विवाद, एयररुट लगायतका विषयमा के हुने हो कसो हुने हो भन्ने चर्चा परिचर्चा शुरु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *