उथलपुथल गर्ने दाहालको दाऊ

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ प्रधानमन्त्रीबाट च्युत भएका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेपालको राजनीतिलाई उथलपुथल गर्ने दाऊको खोजीमा देखिएका छन् । उनको प्रमुख चाहना भनेको हालको सरकारलाई स्थिर रुपमा जान नदिनु नै रहेको देखिएको छ । यसका लागि उनी जुनसुकै हदसम्म पनि जान तयार देखिएका छन् । उनले संसदबाट विश्वासको मत नपाउँदा पनि आफ्नो अभीष्ट पोखेका थिए । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्तमान सरकारको गठनप्रति मात्र आपत्ति जनाएनन् कि वर्तमान सरकार प्रतिगमन उन्मुख रहेकोसम्म भ्याए ।
बुधबार संसदमा उभिएर पनि उनले वर्तमान सरकार खासगरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीप्रति आफ्नो आक्रोश पोख्ने कार्य गरे । उनले शान्ति प्रक्रियाका मुख्य नायकका रुपमा कांग्रेसका तात्कालिन सभापति गिरिजाप्रसाद कोइराला र आफू रहेको बारम्बार दोहो¥याए । उनले ‘बरु कांग्रेसका नेताहरुको बोली ठीक रहेको तर ओली विश्वास गर्न लायक नरहेको’ भन्ने आशय व्यक्त गरिरहे । उनले ओलीलाई व्यङ्ग गरे पनि कांग्रेसका सभापति शेरबहादुर देउवाको भने वचाउ गर्दै आएका छन् ।
दाहालले देउवाको वचाउ गर्नुमा दुइटा कारण देखिएका छन् । पहिलो त देउवा लप्पन छप्पन नगरी जे हो सोही कुरा स्पष्ट रुपमा व्यक्त गर्ने मानिसको रुपमा दाहालले बुझेका छन् । यसैगरी देउवालाई रुष्ट नबनाएको खण्डमा भोलिका दिनमा गठबन्धन बनाउने ठाउँ रहन्छ भन्ने बुझाइमा दाहाल रहेका छन् ।
यसैगरी दाहालको सोच आफ्नो दललाई ३२ सिटे भन्ने आरोपबाट मुक्त गर्ने रहेको छ । उनी माधवकुमार नेपालको दल नेकपा (एकीकृत समाजवादी) सँग एकीकरण गर्ने पक्षमा रहेका छन् । यसो गर्दा एकीकृत समाजवादीको १० सिट थपिएर ४२ सिटको अवस्थामा आफ्नो दल पुग्ने बुझाइ दाहालको रहेको छ । ३२ सिट हुँदा नै उक्त संख्यालाई म्याजिक संख्या ठान्दै आएका दाहाल ४२ सिट भएका खण्डमा त्यसैको आधारमा उथलपुलथ ल्याउन सकिने उनको बुझाइ रहेको छ । दलहरुका बीचमा एकता प्रस्तावसहित दाहालले नेता नेपाललाई आफ्नो निवासमा बोलाएर हिजो विहीबार भेटवार्ता गरेका थिए । दाहालको चाहना एकीकृत समाजवादीसँग कार्यगत एकतामात्र नभई एकीकरण नै रहेको बताइएको छ ।
यसो गरिएका खण्डमा एकीकृत समाजवादीका नेताहरु खासगरी माधवकुमार नेपाललाई पनि फाइदा पुग्ने बुझाइमा दाहाल रहेका छन् । ४२ सिटको दल बनाएर बसेको खण्डमा कुनै पनि दिन कांग्रेस एमालेको वर्तमान गठबन्धनमा दरार उत्पन्न गर्न सक्दा कांग्रेससँग मिलेर सरकार बनाउन सकिने भन्ने सोचका साथ दाहाल लागि परेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री बन्ने अवस्था सिर्जना गरी नेता नेपाललाई नै सरकारको नेतृत्व गराउन सकिनेसम्मको सोचमा दाहाल रहेका छन् ।
त्यसो त दाहालले सोचे अनुसार हुँदा नेता नेपाललाई नै फाइदा पुग्ने देखिन्छ । अहिले संसदमा राष्ट्रिय दलको मान्यता समेत नपाएको स्थितिमा माओवादी केन्द्रसँग मिल्दा आफ्नो हैसियत पनि बढ्ने कुरामा नेता नेपाल पनि सहमत देखिन्छन् । यस्तो अवस्थामा पनि दाहालको ढुल्मुले प्रवृत्तिका कारण आफू प्रधानमन्त्री बन्ने कुरामा नेता नेपाल विश्वस्त हुन नसकेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
अझ नेपाल भने दाहालकै कारण आफू प्रधानमन्त्री बन्ने अवसरबाट वंचित भएको बुझाइमा छन् । यसअघि नेपाली कांग्रेससँगको सहमतिमा बनेको गठबन्धनलाई दाहालले टुटाएर एमालेसँग गाँठो कस्नु गलत थियो भन्ने बुझाइमा नेपाल रहेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन कायम राखेको भए त्यो बेलाका सहमति अनुसार आफू प्रधानमन्त्री बन्ने अवस्थालाई कसैले रोक्न नसक्ने बुझाइमा नेपाल रहेका छन् । दाहालको ढुल्मुले कार्यले अर्को गठबन्धन बन्दा आफू त्यो अवसरबाट वंचित भएको मात्र होइन खड्गप्रसाद शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने अवस्था आएको भनी नेपाल दाहालसँग रुष्ट देखिएका छन् ।
यसैगरी दाहालले वर्तमान सरकार कुनै पनि ढल्ने अवस्था आउने कुराको आंकलन गरी बसेको अवस्था छ । प्रधानमन्त्री ओलीलाई कांग्रेसले लामो समय धान्न नसक्ने बुझाइमा दाहाल रहेका छन् । यस्तो अवस्था आउने भन्दा पनि ल्याउने तयारीमा दाहाल लागेका छन् । समाजवादी मोर्चालाई देखाएर जनता समाजवादी पार्टी नेपाललाई समेत आप्mनो नियन्त्रणमा राख्ने सोचमा दाहाल रहेका छन् । उक्त दलका उपेन्द्र यादवलाई सके एउटै दल बनाउन भन्ने नसके मोर्चा बनाएर सरकारको विकल्पमा तयारी गर्न सकिने बुझाइमा दाहाल रहेको पनि समाचार स्रोतले बतायो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेन्द्रविक्रम चन्दसँग पनि दाहालले बुधबार भेटी दलको एकताको प्रस्ताव राखेको बताइएको छ । चन्द अहिले पनि विद्रोही शक्तिका रुपमा रहेका कारण क्रान्तिकारी दाँतको रुपमा उनलाई प्रयोग गर्न सकिने बुझाइमा दाहाल रहेका पनि बताइएको छ ।
यसैगरी वर्तमान सरकारको विकल्पका लागि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहयोगी हुने भन्नेमा दाहाल ढुक्क रहेको बताइएको छ । आफूले सरकार छाड्नुपर्ने दिनसम्म पनि रास्वपाले साथ दिएका कारण त्यो दललाई पनि आफ्नो कित्तामा राखिराख्ने सोचमा दाहाल रहेका बताइको छ ।
सरकारबाट बाहिरिनुपर्दाको भन्दा पनि आफूलाई छक्याएर ओली प्रधानमन्त्री बनेकोमा दाहाल आक्रोशित बनेका हुन् । सोही कारण आफू प्रधानमन्त्री बने पनि नबने पनि ओलीलाई भने प्रधानमन्त्रीबाट हटाउन सकेमा त्यो आफ्नो सफलता हुने बुझाइमा उनी रहेको बताइन्छ ।
उनले वर्तमान गठबन्धन कायम रहेमा आगामी २०८४ को निर्वाचनमा आफूहरु एक्लै चुनाव लड्नुपर्ने अवस्थामा पुग्ने कुरालाई पनि बुझेको अवस्था छ । कांग्रेस र एमाले कसैको पनि साथ नपाएको अवस्थामा चुनावमा जाँदा १० सिट पनि नआउने भन्ने कुरा दाहालले राम्ररी बुझेको पनि बताइएको छ । सोही कारण वर्तमान सरकारको गठबन्धन टुटाउन सकिएका खण्डमा कुनै प्रमुख दलसँग चुनावी गठबन्धन गरी आफ्नो हैसियत कायम राख्ने मनसायमा दाहाल रहेको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *