नेकपा एश छाड्ने तरखरमा को–को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को विवाद उत्कर्षमा पुगेको छ । पहिलो महाधिवेशनमा उम्मेदवार बनेका नेताहरुलाई हटाइएपछि पार्टी विगटनको संघारमा पुगेको जानकारहरुले बताएका छन् ।
उपाध्यक्षमा चुनाव लडेकी रामकुमारी झाँक्री जयन्ती राईसँग पराजित भएकी थिइन् । पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी झाँक्री सहितका नेतालाई नियोजित रुपमा अध्यक्ष माधवकुमार नेपालले निर्देशनात्मक चिट दिएर केन्द्रीय सदस्यहरुलाई मत हाल्न लगाएका आरोप लागेको छ । निर्वाचनमा झाँक्री सहित नेताहरु केशवलाल श्रेष्ठ, जीवनराज श्रेष्ठ र डा. विजय पौडेललाई हराइएको नेकपा एसमा आवद्ध नेताहरुले बताएका छन् ।
पार्टी अध्यक्ष नेपालसँगसँगै रहेर लामो समय काम गरेका नेताहरुलाई हराइएपछि ती नेताहरु विकल्पको खोजीमा लागेका छन् । ग्रासरुटका कार्यकर्ताहरु र नेताहरु एमालेमै फर्कने तयारीमा जुटेपछि नेकपा एस रित्तिने चर्चा चलेको छ । सांसदद्वय प्रेमबहादुर आले र किसान श्रेष्ठ तथा अमरबहादुर थापा, धनबहादुर बुढा र भानुभक्त जोशी पनि एमालेमै फर्कने तयारी गरी रहेको जानकारहरुले बताएका छन् ।
पार्टीका बहुसंख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गरी एमालेमा नै फर्कने तयारी गरेपछि अध्यक्ष नेपाल तनावग्रस्त बनेको समाचार सूत्रले बताएको छ । नेकपा एसका केही नेताहरु माओवादी केन्द्रतिर पनि जानसक्ने बताइएको छ । उता, माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहालले भने सिंगो पार्टी नै माओवादीमा विलय गराउन लागि परेको श्रोतले बताएको छ । पार्टीका असन्तुष्ट नेताहरु एमालेमा फर्कने तयारीमा जुटेपछि अध्यक्ष नेपालले भीमबहादुर रावल र वामदेव गौतमलाई भित्र्याउने प्रयासमा पटक–पटक भेटघाट एवं वार्ता गरिसकेका छन् ।
गौतमले अध्यक्ष नेपालसँग वरिष्ठ उपाध्यक्षको माग गरेपछि अप्ठ्यारो अवस्थामा आइलागेको छ । नेताद्वय रावल र गौतमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले कुनै भूमिकामा भाउ नदिई बाल मतलब नगरेपछि छटपटाइरहेको जानकारहरुले बताएका छन् । गौतमलाई वरिष्ठ उपाध्यक्ष दिए राजेन्द्र पाण्डे पनि पार्टीबाट फुत्किने पक्का रहेको बताइन्छ ।

उपसभामुख माथि सत्तारुढ दलको बक्रदृष्टि
काठमाडौं÷ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानालाई सकेसम्म पदबाट राजीनामा गर्न नमाने महाअभियोगको प्रस्ताव ल्याएर हटाउने खेल शुरु भएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संवैधानिक परिषद्मा बहुमत पु¥याउन महाअभियोग लगाउने सत्तापक्षले तयारी गरेको समाचार श्रोतले बताएको छ । संवैधानिक परिषद्मा प्रतिपक्ष पार्टीहरुको बहुमत भएकाले विभिन्न आयोगहरुमा नियुक्ति गर्न असहज भएपछि काँग्रेस र एमालेले उपसभामुख रानालाई अमेरिकामा मानव तस्करी गरेको आरोपमा महाअभियोगमा दर्ता गर्ने तयारी गरेका छन् ।
हाल संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेता, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख गरी तीनजना छन् । सत्तापक्षबाट प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरे मात्र भएपछि प्रधानमन्त्रीलाई अप्ठ्यारो परिरहेको जानकारहरुले बताएका छन् । प्रधानन्यायाधीशले साथ दिँदा पनि बहुमत नपुग्ने भएपछि उपसभामुख रानालाई हटाउन लागिएको सत्ता पक्षका एक नेताले बताएका छन् । रानालाई हटाएर काँग्रेसबाट उपसभामुख बनाउने सत्ता पक्षको रणनीति छ ।
यसैबीच उपसभामुख रानालाई हटाउन खोजिए सशक्त प्रतिवाद गर्ने माओवादीका सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । हाल प्रतिपक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना र जनता समाजवादी पाँच तथा एकीकृत समाजवादीका १० गरी कूल ८२ जना सांसद रहेका छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत रहेको छ ।
प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए कोही पनि बाँकी नरहने प्रतिपक्ष दलका नेताको आरोप छ । जनजातिकी एकजना महिलामाथि सहमतिका आधारमा गरिएको उपसभामुख पदमाथि सत्ता पक्षले बक्रदृष्टि लगाउनुलाई लोकतन्त्रको नाममा मनपरितन्त्र चल्न थालेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *