राजनीति अराजकतातर्फ: ओली त्रसित मानसिकतामा , रास्वपा धम्की दिंँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)
मुख्य समाचार

भक्तपुर/ नेपालको राजनीति झनै अराजकतातर्फबाट गएको छ । प्रमुख दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनबाट सरकार बनेको अवस्थामा समेत राजनीतिले स्थिरताको मार्ग नपकडेको आमबुझाइ रहन थालेको छ । सरकारले जनचाहना अनुसारको कार्य गर्न नसक्दा तथा कतिपय साना कुराहरुलाई महत्व दिँदा जनतामा निराशा छाएको छ । ठूला दुई दलको मिलनबाट बनेको वर्तमान सरकारले संविधान संशोधनसहितको नारा अघि सारेको अवस्थामा जनतामा आशा पलाएको थियो । जनताको आशा अनुसारको खासै कार्य गर्न नसकेको स्थितिमा सरकार पुगेको छ । जनचाहनाभन्दा पनि झिना मसिना कुरामा सरकार केन्द्रित हँुदा सरकारले आफ्नो मुख्यमार्ग ठम्याउन नसकेको जस्तो देखिएको छ ।
राजनीतिक दलका नेताहरुको गलत रवैयाका कारण जनता समेत अराजक ढंगबाट प्रस्तुत हुन थालेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमाथि अभद्र व्यवहार अमेरिकामा समेत भएको छ । अमेरिकामा नेपाली समाजले आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएका समाचार आएका छन् । कहीँ आयोजना भएका कार्यक्रममा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणाको नामै लिएर विरोध प्रदर्शनीसमेत गरिएका समाचारहरु आएका छन् ।
आफ्नो देशको प्रधानमन्त्री आएको बेलामा अमेरिकामा बस्ने नेपालीजनले गरेको यो खालको विरोधलाई सही मान्ने अवस्था नरहेको राजनीतिक विश्लेषक रामेश्वर ढकाल बताउँछन् । उनी भन्छन्, ‘हो राजनीतिक दल तथा नेतृत्वबाट गल्ती भएका छन् तर त्यसरी महासभामा भाग लिन गएका प्रधानमन्त्रीको विरोध गर्ने जुन शैली अपनाइयो त्यसले देशकै साख गिराउने कार्य भएको छ । कार्यक्रममा सहभागीहरुमध्ये केही व्यक्ति अराजक ढंगबाट प्रस्तुत भएको कुरालाई समग्र रुपमा लिन भने हुँदैन तर पनि विदेशी भूमिमा आफ्नै साख गिर्ने गरी नाराबाजी गरिनु ठीक होइन ।
अमेरिकामा भएका घटनालाई लिएर नेपालको राजनीतिसँग जोडेर हेरिएको पनि बताइन्छ । नेपालमा सहकारी ठगी प्रकरणमा छविलाल जोशीलाई पक्राउ गरी थप अनुसन्धान चलिरहेको अवस्था छ । यस्तो अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि मुछिने अवस्था रहेको चर्चा छ ।
उता, प्रमुख प्रतिपक्षी दलमा पुगेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत सरकारको विरुद्धमा उत्तेजक अभिव्यक्ति दिने गरेका छन् । उनले आफ्नो नेतृत्वमा रहेको सरकार राष्ट्रवादी रहेको दाबी मात्र गर्ने गरेका छैनन् कि विदेशीको इसारामा हालको सरकार बनाइएको टिप्पणी गरिरहेका छन् । उनले हालको सरकारलाई बंगलादेशको हसिनाको सरकारसँग तुलना गर्दै दुई तिहाई बहुमतको आडमा निर्णय लिने कार्य गरियो भने बंगलादेशकै जस्तो हालत हुनेसम्मको अभिव्यक्ति दिने कार्य गर्दै आएका छन् ।
दाहालको उत्तेजक भाषणहरुले माओवादी केन्द्र समर्थकहरु सरकारविरुद्ध गोलबन्द हुन थालको अवस्था छ । यसैगरी सामाजिक क्षेत्रमा पछिल्लो समय अभियन्ताको रुपमा नाम लिने गरिएका दुर्गा प्रसाइँलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको विषयले पनि मुलुकमा अराजकताको श्रृंखलामा बढोत्तरी भएको छ । उनलाई थुनामा राखी अनुसन्धान गर्ने कार्य प्रहरीले गरिरहेको अवस्थामा उनी समर्थकहरुले देशका विभिन्न भागमा सरकारविरुद्ध प्रदर्शनी गरिरहेका छन् ।
प्रसाइँको समर्थनमा झापामा भएको प्रदर्शनीमा तीनवटा ट्रकमा आगजनी भएको थियो । यसैगरी काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनी पनि भैरहेका छन् । प्रसाइँका समर्थकहरु अराजक ढंगबाट प्रस्तुत हुन सक्ने खतरालाई सरकारले ध्यान दिएको अवस्था छ ।

संसदीय छानविन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछानेमाथि पनि अनुसन्धान चल्ने अवस्था रहेको बताइएको छ । सोही कारण लामिछाने त्रसित अवस्थामा छन् । कुनै पनि बेला पक्राउ पर्न सकिने भन्ने मानसिकतामा रहेका लामिछानेले हरेक दिनजसो आफ्ना समर्थकहरुलाई भेला पारी सरकारविरुद्ध नाराबाजी गराई रहेका छन् ।
रास्वपाका नेता–कार्यकर्ताहरुले दैनिकजसो विरोधका श्वर निकाल्ने गरेका छन् । उनीहरुले लामिछानेको नाम मुछिएर आउने समाचार लेख्ने समाचार गृहका विरुद्धमा समेत धावा बोल्ने कार्य गरिरहेका छन् । बुधबार कान्तिपुर दैनिकले प्रकाशित गरेको एक समाचारमा छविलाल जोशीले दिएको बयानमा उल्लेखित कुराको अंश प्रकाशित गरिएको थियो । उक्त बयानमा रवि लामिछानेको नाममात्र किटान गरिएको छैन कि लामिछाने घोटाला प्रकरणका मुख्य योजनाकार रहेको भन्ने कुरा जोशीले उल्लेख गरेको भनी समाचार प्रकाशित भएको थियो । सोही विषयलाई लिएर लामिछानेका समर्थकहरुले कान्तिपुरको कार्यालय घेर्ने कार्यक्रम आयोजना गरेका थिए ।

हिजो आफू सञ्चारकर्मी रहेको अवस्थामा लामिछानेले टेलिभिजनको कार्यक्रमबाट घोक्रो सुक्ने गरी यस्ता समाचार सार्वजनिक गर्ने गर्थे । आफूले अरुको मानमर्दन हुने गरी तथा जनतालाई उचाल्ने गरी समाचार भन्दा आफूले ठूलो कार्य गरेको ठान्ने लामिछाने अहिले भने आफ्नाविरुद्ध समाचार आएको भनी सञ्चारमाध्यममाथि धावा बोल्न थालेका छन् ।

लामिछानेको पक्ष र विपक्षमा देशका विभिन्न भागमा प्रदर्शनहरु भैरहेका छन् । सहकारीपीडितहरु लामिछानेलगायतमाथि कारबाही हुनुपर्ने पक्षमा छन् । लामिछानेलाई कारबाही गरिएन भने उनैलाई नजिर बनाएर अरु सहकारीका ठगहरु पनि उम्कन सक्ने खतरा रहेको कुरालाई सहकारीपीडितहरुले उठाउने गरेका छन् । उता, सहकारी ठगी प्रकरणमा लामिछानेलाई सरकारले फसाउने प्रपञ्च गरेको जसरी रास्वपाका नेता–कार्यकर्ताले प्रचार गरिरहेका छन् । उनीहरु सहकारीपीडितका विरुद्ध जाइलाग्न सक्ने खतरा पनि अर्कोतिर देखिएको छ ।

यसैबीच, मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रको भेटवार्ता पनि विवादमुक्त बन्न सकेको छैन । मिश्रले आफ्नो फेसबुकमा स्टाटस लेख्दै दाहाल पनि राजाको विषयमा सकारात्मक रहेको भन्ने सन्देश दिएका थिए । त्यस लगत्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दाहालप्रति नकारात्मक टिप्पणी गरेका थिए । त्यसपछि दाहालको सचिवालयले मिश्रले लेखेको स्टाटसप्रति आपक्ति प्रकट गरेका थिए । फेरि मिश्रले आफूले लेखेको कुरामा समर्थन हुने गरी दाहालले बोलेको भन्ने खालका कुरालाई लेखेका छन् ।

यो विषयले राजनीतिक अराजकता ल्याउन सक्ने देखिएको छ । मिश्रले व्यक्तिगत कुराकानीमा दाहाल राजसंस्था, तात्कालीन राजा, पञ्चायती व्यवस्थामा भएका कतिपय कार्यहरु तथा स्व. राजा महेन्द्रप्रति सकारात्मक रहेको कुरालाई उठाई रहने अवस्था छ । मिश्रले त्यो कुरालाई उठाउँदा आफ्नो राजनीतिक उचाइमा नकारात्मक असर पार्ने भन्ने सोचका साथ दाहाल समर्थकहरुले राप्रपाप्रति टिप्पणी गर्ने खतरा पनि छ ।

उता, अन्य दलहरु राजनीतिक खिचातानीमा रहेको अवस्थामा भने नेपाली कांग्रेसभित्र भने मिलनविन्दुको खोजीमा शीर्ष नेताहरु केन्द्रित हुन थालेको पाइएको छ । खासगरी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माका बीचमा कतिपय कुरामा विमति रहँदै आएको थियो । उनीहरु पछिल्लो समय धेरैजसो विषयमा सहमति नजिक पुगेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *