गगन र शंकर एउटै मञ्चमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा एउटै मञ्चमा देखिने भएका छन् । आइतबार हुने एउटा कार्यक्रममा पोखरेल र थापा एउटै मञ्चमा देखिनेमात्र होइन कि संवादमा सरिक हुने भएका हुन् ।
मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भएको एच.आर.क्यापिटल नेपाल नामक सामाजिक संस्थाले आयोजना गर्ने कार्यक्रममा उनीहरु सहभागी हुने संस्थाका अध्यक्ष प्रकाश गैरेले जानकारी दिएका छन् । मानव संसाधन अर्थात नेपालमा जनशक्ति व्यवस्थापनको राष्ट्रिय नीति निर्माण सम्बन्धी बहस कार्यक्रम उक्त संस्थाले गर्ने भएको हो । सो कार्यक्रममा देशका प्रमुख ठूला दल कांग्रेस र एमालेका महामन्त्री र महासचिव सहभागी हुने भएका हुन् ।
काठमाडौं नयाँबानेश्वर नजिक रहेको इन्द्रेणी सुइट होटलमा आयोजना हुने उक्त कार्यक्रममा पोखरेल र थापाले जनशक्तिको विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष गैरेले नेताहरुबाट उक्त विषयमा सरकार, दल तथा नेताहरुको व्यक्तिगत धारणा के हो भन्ने कुरालाई सम्बोधन हुने गरी विभिन्न प्रश्नहरु राख्ने तथा नेताहरुले जबाफ दिने बताइएको छ ।
करिब दुई घण्टा चल्ने उक्त कार्यक्रमलाई काठमाडौं डायलग–२०८१ नाम दिइएको छ । कार्यक्रममा विशिष्ठ व्यक्तित्वहरुले केही जिज्ञासा राखी कार्यक्रमलाई अझै रोचक बनाइने जानकारी संस्थाका संस्थापक एवम् ‘नयाँ विमर्श’ का सम्पादक कौशल कुमार भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार मानव संसाधन अर्थात जनशक्तिलाई व्यवस्थित तथा सीपमुलक बनाउनका लागि यो संवाद कार्यक्रमले महत्वपूर्ण शुरुवात गर्ने विश्वास संस्थाले लिएको छ ।
उक्त कार्यक्रममा सांसद ठाकुर गैरे, पूर्वसचिव केवल भण्डारी, पूर्वराजदूत रमेश कोइराला, राजनीतिक विश्लेषक हरि रोक्का, कानूनविद् भीमार्जुन आचार्यलगायतको सहभागिता रहने बताइएको छ ।
विशुद्ध सामाजिक क्षेत्रमा क्रियाशील रहने एच.आर.क्यापिटल नेपालले आयोजना गर्ने यो संवाद कार्यक्रमलाई युट्युब च्यानेलमार्फत प्रत्यक्ष प्रशारण समेत गरिने बताइएको छ । यसैगरी कार्यक्रममा सहभागी इच्छुक विद्वान–विदुषिहरुलाई लगत्तै ‘टट’ कार्यक्रममा सहभागी गराई देशैभरी जनशक्ति व्यवस्थापनको विषयमा राष्ट्रिय नीति निर्माणका लागि परिचालन गर्ने उद्देश्य पनि संस्थाले लिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *