आजबाट काँग्रेसको युवा संकल्प यात्रा शुरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका युवा नेताको संयोजनमा आज (कार्तिक २३) बाट मेची–महाकाली युवा संकल्प यात्रा संचालन गरिने भएको छ । सरकारमा रहे पनि १० बुँदे अजेण्डासहित काँग्रेस इतरपक्षका युवाहरुले संकल्प यात्रा संचालन गर्ने भएका छन् ।
आज मेचीनगरको काँकडभिट्टाबाट शुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुरहुँदै मंसिर ४ गते महाकाली पुगेर यात्रा समापन हुने बताइएको छ । सरकार सत्तामा रहे पनि युवा शक्ति पलायनलाई रोक्न नसकेको काँग्रेसले युवाहरुको नाममा संकल्प यात्रा गर्नु कुनै अर्थ नरहेको काँग्रेसका युवाहरुले बताएका छन् ।
देशको अवस्था बदल्न, कृषिको आधुनिकीकरण गर्न र लाखों युवालाई स्वदेशमै रोजगार बनाउने नारा लिएर शुरु गरिएको युवा संकल्प यात्रा भ्रमको खेती गर्न शुरु गरिएको जानकारहरुले बताएका छन् । लामो समयसम्म सरकारमा बसेको काँग्रेसले युवालाई न्याय दिन नसकेको अवस्था जननतासँग जोडिन नसकेको अवस्था र किसानलाई राहत दिन नसकेको अवस्थामा युवा नामक संकल्प यात्राको अभियान चलाएर गुटको राजनीतिलाई पक्षपोषण गरेको समाचार श्रोतले जानकारी दिएको छ ।
यो संकल्प यात्रामा शेखर निकट युवाहरुको बाहुल्यता रहे पनि शेखर पक्षधरकै महामन्त्री गगनकुमार थापा र उनी पक्षका युवाहरु सहभागी नरहने श्रोतले बताएको छ । राजनीतिलाई आफ्नो पक्षको रोटी सेक्ने हतियार बनाएर काँग्रेसलाई गुट उपगुटमा विभाजन गर्न खोजिएकोले नेताहरुले पार्टीलाई एकढिक्का बनाएर संगठनलाई सुदृढीकरण नगरेसम्म जुनसुकै यात्रा चलाए पनि अवस्था ज्यूँका त्यूँ रहिरहने बताइएको छ ।
हाल काँग्रेसबाट १० जना मन्त्रीहरु बनेका छन् । तिनीहरु कसैले पनि आफ्नो समर्थक बाहेक जनताको पक्षमा राम्रो काम गर्न नसकेको आरोप लागेको छ । काँग्रेसको इतरपक्षले संकल्प यात्राभन्दा सरकारलाई खबरदारी गरेर सहकारी पीडितलाई न्याय, शान्ति र सुशासन, महँगी र भ्रष्टाचारलाई रोक्नेतर्फ पहलकदमी गरे जनताले आशा एवं विश्वास काँग्रेसलाई गर्ने नत्र ‘जुन जोगी आए पनि कानै चिरेको’ रुपमा हेर्ने अवस्था देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *