उपनिर्वाचनमा होमिदै दलहरु: एमालेको प्रदर्शनी, प्रसाइं अनुसन्धानको घेरामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर / यही मंसिरको १६ गते स्थानीय निकायहरुमा रिक्त रहेका स्थानहरुमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारीमा दलहरु होमिएका छन् । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता भएको अवस्थामा प्रचारप्रसारका लागि समय कम नै रहेको छ । त्यसैले पनि दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुपनि यो निर्वाचन आफ्नो पक्षमा ल्याउनका लागि जोडबलले प्रयास गरिरहेका छन् । निर्वाचनमा सबैजसो दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भनी उम्मेदवारी पनि दिएकाले यो निर्वाचन धाँधलीमुक्त हुने अपेक्षा गरिएको छ । यसैगरी सबैजसो दलहरुले आफ्नै उम्मेदवार बनाएको स्थितिमा यो उपनिर्वाचनको परिणामले दलहरु के कस्तो अवस्था रहेका छन् भन्ने पनि देखाउने बताइन्छ । अघिल्ला स्थानीय निर्वाचनमा दलहरुले कहिले कोसँग त कहिले कोसँग ‘गठबन्धन’ गरी वास्तविक प्रतिस्पर्धा नगरेको अवस्था थियो ।
सत्तामा रहेका दलहरुले आपसी गठबन्धन गरी निर्वाचनमा होमिन थालेका थिए । यसक्रममा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतका सत्तारुढ गठबन्धनले धेरैजसो ठाउँहरुमा गठबन्धन गरेका थिए । यसैगरी नेकपा (एमाले) ले पनि विभिन्न स्थानहरुमा परिस्थिति अनुसार विभिन्न दलहरुसँग गठबन्धन गरेको थियो । यसरी भएको निर्वाचनमा आएका परिणामले दलहरुले पाएको सही मतको आंकलन गर्न गाह्रो अवस्था थियो ।
स्थानीय निर्वाचनमा समानुपातिक मतको व्यवस्था नहुँदा दलले पाएको वास्तविक मतको यकिन गर्न गाह्रो अवस्था थियो । कतै कुनै दलको मतमा अर्को दलको मत मिसिएको अवस्था थियो । यस्तो स्थितिमा कतिपय महत्वपूर्ण स्थानहरुमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उम्मेदवारहरुले पनि विजयको माला पहिरिएका थिए । खासगरी काठमाडौं महानगरपालिका, धनगढी– धरान–जनकपुरधाम उपमहानगरपालिकाहरुमा प्रमुखमा स्वतन्त्र उम्मेदवारहरुले विजयको माला पहिरिएको अवस्था थियो ।यस्तो अवस्थामा दलले प्राप्त गरेको मत यकिन गर्न गाह्रो स्थिति देखिएको थियो ।
यसैगरी अघिल्लो निर्वाचनको समयमा बनेको सत्ता गठबन्धन अहिले फेरिएको छ । त्यो बेला सत्ता र प्रमुख प्रतिपक्षमा रहेका कांग्रेस र एमाले अहिले दुवै सरकारमा छन् । यसैगरी माओवादी केन्द्र, एकीकृत समाजवादी प्रतिपक्षमा छन् । गत स्थानीय निर्वाचनमा नजन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी त्यसपछि जन्मिएर  संसदको चौथो ठूलो दल बन्न पुगेको छ । यो निर्वाचनमा यो नयाँ दलले पनि केही स्थानहरुमा उम्मेदवारी दिएको अवस्था छ ।
यसैगरी गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले विजयको माला पहिरिएको अवस्थामा अहिलेको उपनिर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुको संख्या उल्लेख्य छ । पछिल्लो निर्वाचनमा काठमाडौंबाट जितेका बालेन्द्र शाह (वालेन) र धरानबाट जितेका हर्क साम्पाङको नाम लिंदै उम्मेदवारी दिनेहरुको संख्या पनि उल्लेख्य छ यद्यपि ती उम्मेदवारप्रति बालेन र हर्कले कुनै समर्थन पनि जनाएको अवस्था छैन ।
यस्तो स्थितिमा देशका विभिन्न ४४ वटा पदमा उपनिर्वाचन हुन गैरहेको छ । यस्तो अवस्थामा खासगरी काठमाडौं जल्लाको कीर्तिपुर नगरपालिकाको प्रमुख, मोरङको ग्रामथाम गाउँपालिकाको अध्यक्ष लगायतका ठाउँहरुको निर्वाचन परिणामलाई ठूला दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । त्यसमा पनि कीर्तिपुरको निर्वाचनलाई लिएर बढी चासो देखाइएको छ ।
कीर्तिपुर काठमाडौं अर्थात राजधानीसँग जोडिएको पालिका पनि हो । काठमाडौंमा यसअघि स्वतन्त्र उम्मेदवारले जितेको अवस्थामा कीर्तिपुरको अवस्था के होला भनी सर्वत्र बढी चासो दिइएको अवस्था छ । कीर्तिपुरका १० वडामध्ये ९ वटा वडामा कांग्रेसले जितेको थियो । त्यो बेला २५ वर्षदेखि एमालेले जित्दै आएको कीर्तिपुरमा कांग्रेसका राज कुमार नकर्मीले सबै दलको उम्मेदवारी परेको अवस्थामा पनि तीन हजार पाँच सय बढी मतान्तरले जितेका थिए ।
त्यसैले उक्त विरासतलाई जोगाउन कांग्रेस लागि परेको अवस्था छ । यसैगरी एमाले पनि आफ्नो २५ वर्षे इतिहासलाई फर्काउने प्रयासमा छ । यस्तै, त्यो बेला राम्रो मत ल्याएको माओवादी केन्द्रले पनि अहिले जित निकाल्न बल गरिरहेको छ । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी अहिले प्रतिपक्षमा रहेकाले कीर्तिपुरमा रास्वपाले उम्मेदवारी दिएको छैन । उसले घोषित रुपमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको नभने पनि पछि गएर समर्थन जनाउने संभावना रहेको भनी स्रोतले दाबी गरेको छ ।
उता, स्थानीय निकायको उपनिर्वाचनको सन्दर्भ पारेर आज शुक्रबारएमालेले काठमाडौंमा प्रदर्शनी गर्ने भएको छ । सत्तामा रहेको दलले गर्ने उक्त प्रदर्शनीलाई लिएर विभिन्न किसिमका टिप्पणी पनि भैरहेका छन् । उक्त दिन सामाजिक अभियन्ता दुर्गा प्रसाइँले काठमाडौंमा प्रदर्शनी गर्ने भनी सात महिनाअघि नै घोषणा गरेका थिए । उनले काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा आफ्ना समर्थकहरुलाई उतार्ने भनी स्थानीय प्रशासनसँग अनुमतिका लागि माग गरे पनि उनले त्यो अनुमति पाएका छैनन् ।
सोही दिन एमालेले पनि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रभित्र प्रदर्शनी गर्ने भएकाले स्थानीय प्रशासनले प्रसाइँको समूहलाई चक्रपथ बाहिर प्रदर्शनी गर्न भनेको छ । प्रसाइँ समर्थकहरुले प्रदर्शनी नै गरे भने पनि काठमाडौंको चक्रपथ क्षेत्रभन्दा बाहिरनै गर्ने अवस्था देखिएको छ ।
उता, मंगलबार प्रसाइँलाई प्रहरीले साइबर क्राइम गरेको आरोपमा पक्राउ गरेको छ । सोमबार प्रसाइँले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीसमेत रहेका खड्गप्रसाद शर्मा ओलीमाथि विभिन्न आरोप लगाएका थिए । प्रसाइँले विभिन्न कागजात प्रस्तुत गर्दै ओलीले नेपाली रुपियाँ ३२ अर्बभन्दा बढी कम्बोडियामा लगानी गरेको दाबी गरेका थिए ।
प्रसाइँको दाबीपछि ओलीमाथि विभिन्न प्रश्नहरु उठिरहेको अवस्थामा प्रहरीले उक्त कागजातहरुको आधिकारितामाथि प्रारम्भिक परीक्षण थालेको बताएको छ । यसरी परीक्षण गर्दा ती कागजातहरु सक्कली नरहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट भेटिएको भनी सि.आई.बि.ले प्रसाइँलाई मंगलबार नै पक्राउ गरी कानूनी अनुसन्धानमा राखेको छ । उनलाई मंगलबार नै अदालतमा लगी अनुसन्धानको लागि म्याद थपको कानूनी प्रक्रिया शुरु गरिएको छ । प्रसाइँमाथि अनुसन्धान थालिएको तथा उनलाई हिरासतमै राखी कानूनी प्रक्रिया अघि बढ्ने अवस्था रहेमा उनका समर्थकले गर्ने भनिएको प्रदर्शनी रोकिन सक्ने पनि बताइको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *