भ्रमणको तयारीलाई मन्त्री राणा चीनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मंसिर १७ गतेदेखि शुरु गर्ने चीन भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा हिजो विहीबार चीन प्रस्थान गरेकी छिन् ।
मन्त्री राणा देउवाले आज शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको छेङ्दुमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयबाट जानकारी प्राप्त भएको छ । उक्त भेटमा प्रधानमन्त्रीको भ्रमण तथा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने जानकारी मन्त्रालयले दिएको छ ।
प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै छन् । चीन भ्रमणको तयारीका लागि उनी पाँच दिन अगावै चीन गएकी हुन् । मुख्यतयाः चीनको ठूला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच विवाद रहेकै बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री चीनतर्फ लागेकी हुन् । उनको चीन भ्रमण सोमवार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको समाचार स्रोतले जानकारी दिएको छ ।
अहिलेसम्म बिआरआईअन्तर्गत ऋण लिन हुने र नहुने मत विभाजित रहेको छ । बिआरआईमा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको हो । सन् २०१७ मे १२ मा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसैबीच चीनको एक उच्चस्तरीय टोली भने काठमाडौं आइपुगेको छ । सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिनको नेतृत्वमा ६ सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *