भक्तपुर/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी हिजो बिहीबार स्वदेश फर्किएका छन् । मंसिर १७ गते चीन भ्रमणमा गएका ओली हिजो दिउँसो काठमाडौं फर्किएका हुन् ।
ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौताहरु भएका जनाइएको छ । यसैगरी नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
उता, काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यो भ्रमणका दौरान विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ । भ्रमणका अवसरमा स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया गु्रपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
