ओलीका ‘दूत’ दिल्लीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली भारतको सत्ताधारी दलहरुलाई चिढ्याउँदै सोमबार उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा गए पनि उनले आफ्ना ‘दूत’ लाई भारतको दिल्ली पठाएको चर्चा चलेको छ ।
सामान्यतः भारतमा पहिलो औपचारिक भ्रमणमा गर्ने गरेका नेपालका प्रधानमन्त्रीहरुको पदचाप ओलीका लागि यो पटक नजुरेको अवस्थामा उनले आफ्ना ‘दूत’ लाई भारत पठाई सन्तुलन मिलाउने प्रयास गरेको भनी समाचार स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री बनेको चार महिना हुँदा पनि भारतले औपचारिक निमन्त्रणा ओलीलाई दिएको छैन । यस्तो अवस्थामा ओली ठूलो टोली लिएर चीन प्रस्थान गरेका छन् । ओलीको चीन भ्रमणलाई लिएर भारतले चासो राख्दै आएको बताइन्छ ।
चीन गएका प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीलाई आइतबार नै भारत पठाएका बताइएको छ । उनी भारतको नयाँदिल्लीमा हुने दुई दिने साझेदारी शिखर सम्मेलन २०२४ मा भाग लिन गएका बहाना बनाइए पनि उनलाई ओलीले भारतका सत्तासीनहरुलाई खुशी पार्न पठाएको स्रोतको दाबी छ ।
मन्त्री भण्डारीको भ्रमण पूर्वनिर्धारित भए पनि प्रधानमन्त्री ओलीले सो भ्रमणलाई भारतसँगको सम्बन्ध सुधारको प्रयासको लागि भनी स्रोतले दाबी गरेको छ । मन्त्री भण्डारीको भारतीय संस्थापन पक्षसँग राम्रो सम्बन्ध भएकाले उनलाई ओलीले सम्बन्ध सुधार्नका लागि खटाएको बताइएको छ ।
चीनबाट फर्केपछि ओलीले भारतको भ्रमण गर्ने योजना बनाएका पनि बताइएको छ । त्यसका लागि मन्त्री भण्डारीको भारत भ्रमणलाई ओलीले सदुपयोग गर्न चाहेको बताइन्छ । ओलीकै अघिल्लो प्रधामनन्त्रीत्व कालमा भारतले अतिक्रमित गरेको भूमि समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारतसँग ओलीको सम्बन्धमा दरार आएको बताइन्छ ।
गत असोजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीका बीच संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा अमेरिकामा भेट भएको थियो । त्यसपछि ओलीले भारत भ्रमण गर्न भन्दै विभिन्न माध्यममार्फत प्रयास गर्दा पनि भारतले उनलाई महत्व नदिएको बताइएको छ । त्यसैको तयारीका लागि भनी ओलीले परराष्ट्रमन्त्री डा.आरजू राणा देउवालाई नयाँ दिल्ली पठाएका थिए । उनको भ्रमणलाई राम्रो सम्मान भारतले दिए पनि ओलीलाई निम्तो नदिएको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *