काठमाडौँ/ परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा जर्मनीबाट भारत गएकी छिन् । बुधबार भारत प्रस्थान गरेकी देउवा युरोपको भ्रमण सकाएर त्यहीँबाट भारत गएकी हुन् ।
आज पुस ५ गते भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुन लागेको सो सम्मेलनलाई उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
उनी भोलि शनिबार नेपाल आइपुग्ने कार्यक्रम रहे पनि यसबीचमा उनले भारतमा उच्चस्तरीय भेटघाट पनि गर्ने बताइएको छ । भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेटघाटको समय मिलाउने काम भइरहेको समेत समाचार स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवबीच भेटघाट भई यसका लागि पहल भैरहेको बताइएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री बनेको छ महिना हुँदा पनि भारतले उनलाई औपचारिक रुपमा भ्रमणको निम्तो दिएको छैन । त्यसैले परराष्ट्रमन्त्री आरजूमार्फत ओलीले आफ्नो भ्रमणको व्यवस्था मिलाउन भनिरहेको पनि समाचार स्रोतले दाबी गरेको छ । यसअघि भारतको भ्रमणमा परराष्ट्रमन्त्री आरजू जाँदा भारतले एकदमै उच्चस्तरको आतिथ्यता प्रदान गरेको थियो । नेपालमा प्रधानमन्त्री बन्नासाथ सामान्य रुपमा पहिलो भ्रमण भारतबाटै हुने गरेको अवस्थामा ओलीलाई पछिल्लो प्रधानमन्त्रीकालमा भारतले भ्रमणको निम्तो दिएको छैन । सोही कारण ओली नेतृत्वको सरकार कुनै पनि बेला ढल्न सक्ने चर्चा चल्ने गरेको छ ।
यसरी आफूलाई निम्तो समेत नदिएको अवस्थामा ओली परराष्ट्रमन्त्रीमार्फत भारतमा सम्बन्ध सुमधुर बनाउन चाहिरहेका बताइएको छ । यसका लागि उनले परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई आफ्नो भ्रमणको लागि अनुकुलको बनाउन लगाउने अश्त्रका रुपमा पनि प्रयोग गर्न चाहिरहेको पनि समाचार स्रोतले दाबी गरेको छ ।