काठमाडौं/ नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा प्रवेश गर्ने चर्चा चलेको छ । राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमलाई नेकपा (एमाले) ले खासै वास्ता नगरेपछि र पार्टीमा भित्र्याउनेबारे महत्व नदिएपछि गौतम नेकपा एसमा प्रवेश गर्ने तयारीमा लागेको समाचार श्रोतले बताएको छ ।
हक्की र खरो स्वभावका गौतम पछिल्लो केहि समयदेखि सकृय राजनीतिमा छैनन् । गौतमलाई नेकपा एसमा ल्याउन एकीकृत समाजवादीका नेताहरु निरन्तर प्रयासमा लागेपछि गौतम सकारात्मक बनेको सूत्रले बताएको छ । पार्टीको औपचारीक प्रकृया पूरा गरेपछि गौतम सम्मानजनक पद लिएर प्रवेश गर्ने बताइएको छ । पदमा भए पनि नभए पनि सधै चर्चामा आइरहने गौतमले खड्गप्रसाद शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक योगदान गरेको जानकारहरु बताउँछन् ।
गौतमलाई २०७६ सालमा प्रधानमन्त्रीबाट ओलीलाई हटाउन भूमिका खेलेको आरोप लागेको छ । सोही कारण गौतम एमालेबाट बाहिर पर्दै आइरहेका छन् । एमालेले अध्यक्ष ओलीले जे व्यवहार गरे पनि गौतम अझै पनि एमालेको बाटो कुरिरहेका छन् । गौतमलाई एमालेमा ल्याउने बेला अहिले नभएको भन्दै विगत छ महिनादेखि पर्खाएर राखेको गौतमले बताएका छन् ।
आगामी २०८४ को निर्वाचनलाई मध्यनजर राखी गौतम नेकपा एसमा प्रवेश गर्ने तयारी गरेको जानकारहरुले बताएका छन् । यता, एमाले नेता भीमबहादुर रावल पनि अध्यक्ष ओलीको पेलाईबाट मुक्त हुनका लागि नेकपा एसतिरै प्रवेश गर्ने तयारीमा जुटेको समाचार श्रोतले जानकारी दिएको छ । एमालेमा अध्यक्ष ओलीको निरंकुश प्रवृत्तिले अरु पनि थुप्रै नेताहरु रुष्ट बनेको खबर छ ।
यता, स्थानीय उप–निर्वाचनको परिणमकले मर्माहत बनेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीभित्र आफ्नो विरोध गर्नेहरुलाई तर्साउँदै सिजिङ्ग पिङ्ग बन्न खोजेको पनि राजनितिक वृत्तमा चर्चा चलेको छ । एमालेमा विकल्प नदेखिएपछि अन्य नेताहरु तैं चुप मैं चुपको अवस्थामा ओलीको गुणगान गाउन बाध्य बनेको समाचारमा उल्लेख गरिएको छ ।
एमालेले वास्ता नगरेपछि गौतम एसतिर
Facebook Comments Box