ललितपुर/ नेपाली काँग्रेसको १५औं महाधिवेशन निर्धारित समयमै भए अबको ११ महिनापछि अर्थात २०८२ मंसिरमा हुनेछ । त्यतिबेलासम्म गाउँ, नगर, वडा–क्षेत्रीय र जिल्ला अधिवेशनहरु भै सक्नुपर्ने हुन्छ । हालसम्मका छाँटकाट हेर्दा समयमै महाधिवेशन हुनेमा शंका उत्पन्न भएको देखिन्छ ।
काँग्रेसको विधानमा दुई पटकभन्दा बढी सभापति बन्न नपाइने व्यवस्था भएकाले १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पुनः तेश्रो पटक सभापति बन्न पाउने छैनन् । त्यसकारणले सभापतिमा देउवाको समर्थन कसलाई हुन्छ भन्ने बारेमा व्यापक चासो बढेको छ । यतिबेला देउवासँग १४औं महाधिवेशनमा पराजित भएका काँग्रेसका वरिष्ठ नेता शेखर कोइराला पार्टी सभापति बन्न देश दौडाहामा निस्किएका छन् ।
वरिष्ठ नेता कोइरालाले काँग्रेसमा गुट उपगुटको विकास देउवाले नै गरेको आरोप लगाएका छन् । हाल काँग्रेसमा संस्थापक र संस्थापक इतर गरी दुई गुट छन् भने अप्रत्यक्ष रुपमा गगन थापा, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्मा गरी आधा दर्जनले गुटहरु भित्रभित्रै सक्रिय राखेको जानकारहरुले बताएका छन् । खासगरी डा. शेखर कोइराला र महामन्त्री गगन थापा पार्टी सभापति बन्ने हुटहुटीमा लागेपछि देउवाको साथ र समर्थन पाउन महामन्त्री थापा देउवासँग नजिकिएको जानकारहरुले बताएका छन् ।
१४औं महाधिवेशनमा एउटै कित्तामा रहेका शेखर–गगन गुट नदीको किनारा बन्न पुगेका छन् । पार्टी सभापति देउवाले श्रीमती आरजु राणा देउवालाई उत्तराधिकारी बनाउनका लागि गगनलाई रोक्न सक्ने बताइएको छ । हाल डा. आरजु र गगनको ट्यूनिङ मिल्न थालेको पनि श्रोतले बताएको छ । देउवाले १५औं महाधिवेशनमा श्रीमती आरजुलाई उपसभापति बनाएर १६औं महाधिवेशनमा पार्टी सभापति बनाउने भित्री योजनामा जुटेको काँग्रेसका जानकारहरुले बताएका छन् ।
यता, ४० प्रतिशत भागवण्डा लिएर सभापतिको सपना देखेका शेखरलाई संस्थापन इतर पक्षकै नेताहरुले साथ दिन छाडेपछि कोइराला र थापा समूहले छुट्टाछुट्टै भेलाहरुको आयोजना गर्न थालेका छन् । यसको शुरुवात कोइरालाले गत मंसिर १८ गते विराटनगरमा आफूनिकट नेताहरुको भेला गरेर शुरु गरिसकेका छन् । वरिष्ठ नेता कोइराला र थापाकाबीच दूरी बढ्न थालेपछि सभापति देउवालाई हाइसञ्चो भएको पार्टी वृत्तमा चर्चा छ ।
सभापति देउवाले आफूविरुद्ध प्रश्न उठाउने नेताहरुलाई चलाखीपूर्ण तरिकाले व्यवस्थापन गर्दा र इतर पक्ष एकजुट हुन नसक्दा शेखरको राजनीति भागवण्डा मै सकिने चर्चा पनि चलेको छ ।
महाधिवेशन नजिकिँदै गर्दा शेखर–गगनको हुटहुटी
Facebook Comments Box