चितवन/ नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने धारणा राखेका छन् ।
यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने धारणा राखेका हुन् । उनले भने, ‘वि.सं. २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’ निर्धारित समयमा महाधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तताको असर आम निर्वाचनमा पर्ने धारणा राखे । उनले ‘कोइराला परिवार एक होइन विचार एक हुनु प¥यो । विचार एक भए हुन्छ ।’ भन्ने धारणा राख्दै परिवारभन्दा विचार ठूलो भन्ने कुरालाई सबैले आत्मसात गर्नसक्नुपर्ने बताए ।
उनले कांग्रेसमा आफ्नो स्वार्थका लागि विभिन्न किसिमका गुट उपगुट बनाउने कार्य भैरहेकोलाई राम्रो नमानेको धारणा पनि राखे । उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व अबको महाधिवेशनबाट कांग्रेसजनले अपेक्षा गरेको बताए ।
परिवारभन्दा विचार ठूलो– कोइराला
Facebook Comments Box