मुख्य समाचार
भक्तपुर/ नेपालमा पछिल्ला घटनाक्रमले मुलुक विभिन्न ध्रवीकरणमा पुग्ने अवस्था देखिएको छ । एकातिर नेपाली कांग्रेस लोकतान्त्रिक शक्तिहरुको सुदृढीकरणको पक्ष्मा देखिएको छ । यसैगरी दोस्रो ठूलो दल नेकपा (एमाले) तेस्रो ठूलो दल वा अर्को कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) लाई अस्थित्वविहीनको अवस्थामा पु¥याउन चाहन्छ । एमाले भित्र अध्यक्ष खड्गप्रसाद शर्मा ओली आफ्नो एकल निर्णयलाई सबैले मान्नैपर्छ भन्ने मान्यताका साथ पेलेर अघि बढिरहेको अवस्था छ । यस्तै, माओवादी केन्द्र पनि एमालेसँग कुनै पनि हालतमा मिल्न नसकिने अवस्थामा पुगेको छ । आन्तरिक समस्यामा समेत रहेको माओवादी केन्द्र अरुका समस्यालाई देखाएर आफ्नो समस्यालाई छोप्ने प्रयासमा छ । यसैगरी चौथो ठूलो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी निलम्वित सभापति रवि लामिछानेको कारण रनभुल्लमा परेको छ । यसैगरी संसदमा रहेका तराई केन्द्रित दलहरु र पहिचानवादीहरु पनि मोर्चा बनाउने तयारीमा लागेका छन् । उनीहरु पनि छलफलमा जुटेको अवस्था छ ।
उता, एमालेबाट निष्कासित नेता भीमबहादुर रावल पछिल्लो समय सामाजिक अभियन्ता दुर्गा प्रसाईको कार्यालयमा पुगेका छन् । उनले ‘राजा’ हरुको गुणगान गाउन थालेको छन् । यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन र आवश्यक पर्दा अन्य देशभक्त र राजभक्तहरु एक ठाउँमा अटाउन सक्ने भन्ने खालका धारणाहरु सार्वजनिक गर्दा मुलुकमा विभिन्न मोर्चाहरु बन्ने अवस्था देखिएको छ ।
पहिलो दलको रुपमा रहेको कांग्रेस राष्ट्रिय राजनीतिमा खैलाबैला नगरी बसेको अवस्था छ । सरकारको मुख्य साझेदार दलको रुपमा रहेको कांग्रेस आफ्नै ढंगबाट चलिरहेको छ । कांग्रेसको मौनताका कारण अन्य दलहरुबाट गाली वा आलोचना पनि नआएको अवस्था छ । यसै साता एमाले र माओवादी केन्द्रले आफ्ना केन्द्रीय स्तरका बैठकहरु गरे । ती दुवै दलले कांग्रेसको आलोचना गरेनन् । सरकारमै रहेको अवस्थामा कांग्रेसको आलोचना गरेका खण्डमा सरकार संचालनमा त्यसले असर पार्ने ठानेको राजनीतिक विश्लेषक भुवन खड्का बताउँछन् । यसैगरी माओवादी केन्द्रले एमालेको चर्को आलोचना गरे पनि काग्रेसको नगरेको अवस्था छ । त्यस्तो हुनुमा भोलिका दिनमा सत्ता सहकार्य गर्नुपर्ने अवस्था आएका खण्डमा कांग्रेस नै उपयुक्त हुन सक्ने सोचमा माओवादी केन्द्र रहेको हुन सक्ने खड्काको अनुमान छ ।
कांग्रेसमा आन्तरिक राजनीति भने चलेको छ । कांग्रेसको आसन्न महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व कसले हत्याउने भन्ने खेलमा कांग्रेसका नेताहरु आन्तरिक दौडधूपमा भने छन् । मुख्य रुपमा सभापति कसले हत्याउने भन्ने कुरामा कांग्रेस भित्र खेल भैरहेको छ । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको आशीर्वाद कसलाई रहला भन्ने कुरालाई बढी चासोका साथ नेताहरुले लिंदै आएका छन् ।
खासगरी कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला सके आफ्नै बलमा नसके देउवाको आशीर्वादमा उम्मेदवार बन्ने दौडमा देखिएका छन् । यसैगरी सभापतिको तयारीमा रहेका हालका महामन्त्री गगनकुमार थापा पनि सभापतिको उम्मेदवार बन्ने दौडमा छन् । कोइरालासँग निकट रहेका भनिने थापा पछिल्लो समय देउवासँग नजिक भएर भए पनि सभापति हत्याउने तयारीमा जुटिरहेका छन् । विभिन्न कार्यक्रमहरुमा उनी सक्रियता देखाइरहेका छन् ।
सरकार संचालनको मुख्य बागडोर सम्हालेको एमाले भने चौतर्फी प्रहार खेप्न बाध्य देखिएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री समेत रहेको अवस्था छ । यो अवस्थामा सरकारले गर्ने हरेक नराम्रा कामको अपजस एमालेको पोल्टामा पर्दै आएको छ । उता, ओलीले आफ्नो दलमा आफ्नो विरुद्धमा कोही पनि नबोलुन् भन्ने चाहना पूरा गर्न लागि परेका छन् । पछिल्लो समय नेता भीमबहादुर रावललाई दलबाट निष्कासन गर्ने कार्य ओलीले गरेका छन् । यसैगरी पार्टी कार्यालयको भवन र जग्गा लिने कार्य ठीक होइन भन्ने कुरा राख्ने नेतृहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई छ महिनाका लागि निलम्वन गर्ने निर्णय ओलीले गरेका छन् ।
ओलीले यो निर्णय गरी सबैलाई तर्साउने कार्य गरे पनि नतिजा भने त्यसको विपरित आइरहेको छ । यी निर्णय ठीक भएनन् भनी एमाले भित्र झनै ठूलो आवाज उठ्न थालेको छ । रावललाई निष्कासन गर्ने निर्णयकै बेलामा पनि सातजनाले त्यसप्रति असहमति जनाएका थिए । यसैगरी पाण्डे र तिम्सेनामाथि भएको कारबाही फुकुवा गरिनुपर्ने माग मात्र उठेको छैन कि ‘जग्गादातालाई धन्यवाद दिएर जग्गा, भवन नलिने निर्णय गरौं’ भन्ने कुरा बैठकमा आएको छ ।
यसैगरी उक्त जग्गा प्रकरणपछि एमालेका धेरै नेता कार्यकर्ताहरुले एमाले परित्याग गरेका छन् । कतिपय निष्कृय बनेका छन् । यसैगरी एमालेमा रहेका पूर्व माओवादी केन्द्रसमर्थित नेता कार्यकर्ताहरुले पनि एमाले छाड्न थालेका छन् । यो क्रम झनै बढ्न पुगेको छ । रावललाई गरिएको निष्कासनले ओलीलाई आफ्ना विरोधी तह लगाएँ भन्ने भएको भए पनि त्यो प्रत्युत्पादक बन्न पुगेको भनी एमाले भित्रै आवाज उठ्न थालेको छ ।
रावलले पत्रकार सम्मेलन गरी आफू अब एमालेमा नफर्कने बताएका कारण कर्णाली र सुदूर पश्मिाञ्चल प्रदेशमा एमालेलाई पछिल्ला दिनमा ठूलो क्षति हुने विश्लेषण भैरहेको छ । रावल समर्थितहरुले पनि एमाले छोड्न थालेका छन् । यसैगरी एमालेबाट विद्रोह गरी निर्माण गरिएको नेकपा (एकीकृत समाजवादी) मा एमालेजनहरु जान सक्ने अवस्था आएको छ । यो कुरालाई वामदेव गौतम एकीकृत समाजवादीमा जाने निश्चितप्रायः सँगै बढ्न पुगेको बताइन्छ ।
उता, माओवादी केन्द्र पनि आन्तरिक समस्यामा रुमलिन पुगेको छ । सो दलमा आन्तरिक प्रतिस्पर्धा नभएको तथा अध्यक्ष पुष्प कमल दाहालले एक ढंगीय सोचाइलाई अन्य नेताहरुले सहजै स्वीकार्न सकिरहेका छैनन् । उनको विकल्प खोजिनुपर्ने वा निर्वाचनको प्रतिस्पर्धाबाट नै नेतृत्व चयन हुनुपर्ने कुरा उठी रहेको छ । यो कुरालाई ओझेलमा पार्न दाहाल भने अरु दलका गल्ती केलाउन लागि रहेका छन् ।
उनी एमाले र खासगरी एमालेका अध्यक्ष ओलीको उछितो काड्ने कार्यमा लागेका छन् । आफूलाई सत्ताच्यूत गरिएको बदला लिएरै छाड्ने अठोटका साथ उनी लागेका कुरा उनका अभिव्यक्तिहरुले देखाउने गरेका छन् । उनी पार्टीमा जनार्दन शर्माले चुनौती दिन थालेकाले उनलाई साइजमा राख्न पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा सक्रिय बनाउन थालेका छन् । कम्युनिष्ट नाममा एमालेसँग सहकार्य हुन नसक्ने निष्कर्षमा पुगेका दाहालले कांग्रेसका लागि सहकार्यको ढोका भने खुल्ला राखेका छन् ।
आफूलाई वैकल्पिक शक्तिको रुपमा स्थापना गर्ने उद्देश्यका साथ आएको राष्ट्रिय स्वतन्त्र पार्टी निलम्वित सभापति रवि लामिछानेका हर्कतका कारण रुमलिन पुगेको छ । लामिछाने विभिन्न सहकारीको रकम अपचलनमा जोडिएर कानूनी फन्दामा छन् । सोही कारण रास्वपा ‘न हाँसको चाल न कुखुरीको चाल’ को अवस्थामा रहन पुगेको छ ।
उता, पछिल्लो उपनिर्वाचनमा स्थानीय निकायहरुको चुनावमा खासै मत नपाएको अवस्थामा तराई केन्द्रित दलहरु झस्किन पुगेका छन् । उनीहरु सकेसम्म सहकार्य गर्ने पक्षमा देखिएका छन् । उनीहरु एक्लाएक्लै रहेको अवस्थामा अस्थित्वविहीन भइने खतरालाई देख्न थालेका छन् । सोही कारण उनीहरु सकेसम्म एकीकरण गर्ने नसके सहकार्य गर्ने पक्षमा देखिन थालेका छन् । उनीहरुसँग पहिचानवादीहरु पनि जोडिन पुगेका छन् ।
सबैभन्दा ठूलो ध्रुवीकरणको अवस्था देशभक्त र राजभक्तको बन्ने देखिएको छ । जनताको पक्षमा आफूलाई उभ्याउँदै आएका दुर्गा प्रसाइँको कार्यालयमा भीमबहादुर रावल पुगेका छन् । उनले आपूm एमालेमा नफर्किने मात्र होइन कि एमालेका अध्यक्ष ओलीको धज्जी उडाउन लागि पर्ने भन्न थालेका छन् । यसैगरी सबै देशभक्तहरु एक ठाउँमा आउनुपर्ने पक्षमा उनले धारणा राख्न थालेका छन् ।
रावलका पछिल्लो अभिव्यक्तिहरु कहिँ प्रसाईसँग नजिक हुने खालको छ त कहीँ राजावादीहरुसँग नजिक हुने खालका छन् । यसैगरी उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेनदेखि सुदूरपश्चिमका प्रदेश सांसदलाई समेत जोड्ने गरी अभिव्यक्ति दिन थालेका छन् । यसैगरी उनले नेपाली कांग्रेस (बी.पी.) का कर्ण मल्लको साथ लिएर नयाँ दल खोल्ने संभावना पनि देखाएका छन् ।
यसरी मुलुकमा रहेका विभिन्न राजनीतिक दल तथा समूहहरु विभिन्न धु्रवमा ध्रुविकृत हुन थालेका छन् । यस क्रममा ‘राजावादी’ दलहरुको रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (नेपाल) का अध्यक्षहरुका बीचमा सौहार्दपूर्ण व्यवहारहरु देखिन थालेका छन् ।
यस्तो अवस्थामा राजनीतिक ध्रुविकरण धेरै खालका देखिनुले मुलुकले राजनीतिक निकास नपाउने पो हो कि भन्ने आशंका जन्मिन थालेको छ ।