काठमाडौं/ नेपाली काँग्रेस– नेकपा (एमाले) गठबन्धन सरकारले ६ महिना पूरा गरेको छ । पुसको चिसो जाडो सकिएर माघ लाग्नासाथ सरकार ढल्ने चर्चाले राजनीतिक पारोलाई तताउन थालेको छ । कतिपयले त आगामी माघ १५ देखि फागुन १५ सम्ममा सरकार ढल्ने ठोकुवा समेत गरिसकेका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली काँग्रेसको सहकार्यमा गत २०८१ असार ३० गते प्रधानमन्त्री बनेका थिए । वर्तमान सरकारप्रति गठबन्धन दलमा आवद्ध काँग्रेसकै नेताहरुमा ठूलै भ्वाङ परेको बताइएको छ । काँग्रेसबाट मन्त्री बनेकाहरु बाहेक अन्य नेताहरु सरकारको कार्यशैलीप्रति रुष्ट देखिएका छन् । काँग्रेसका वरिष्ठ नेता शेखर कोइराला, शशांक कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, अर्जुन नरसिंह के.सी., एन.पी. साउदलगायतका नेताहरु सरकारप्रति रुष्ट बनेको समाचार श्रोतले बताएको छ ।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका सभपाति राजेन्द्र लिङदेन र काँग्रेस सभापति शेरबहादुर देउवाको भेटले राजनीतिलाई शंकाको घेरामा तानेको छ । यता, देउवाका दाहिने हात ठानिएका प्रकाशरण महतको रास्वपा कार्यवाहक सभापति डोलप्रसाद (डि.पि.) अर्यालबीच बाक्लो भेटघाट हुनु र सभापति देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पटक पटक संवाद हुनुलाई सरकार लर्खराउन थालेको अड्कल गरिएको छ ।
काँग्रेस, माओवादी, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादी मिल्दा सरकार बन्ने स्पष्ट बहुमत देखिन्छ । ओली नेतृत्वको सरकारमा काम गर्दा काँग्रेसका मन्त्रीहरुलाई काम गर्न असहज भएको जानकारहरुले बताएका छन् । खासगरी चीनसँग विआरआई सम्झौतामा हस्ताक्षर गरेपछि काँगे्रस–एमालेबीच दरार उत्पन्न भै अमेरिकाले काँग्रे्रस–माओवादीसहितको गठबन्धनका पक्षमा सरकार बनाउन दबाब दिएको चर्चा चलेको छ । प्रधानमन्त्री भएको ६ महिना वितिसक्दा पनि भारतले ओलीलाई भ्रमणको निम्तो नदिनुलाई अशुभ संकेतका रुपमा हेरिएको छ । प्रगति, सम्बृद्धि एवं सुशासनका लागि बनेको दुई तिहाई नजिकको काँग्रेस एमाले गठबन्धन सरकारले जनताको क्षमा काम नगरी ढुकुटी रित्याउने र भ्रष्टाचार एवं कमिशनतन्त्रलाई महत्व दिएपछि माओवादी अध्यक्ष दाहाल जसरी पनि सरकार ढाल्ने रणनीतिमा कृयाशील रहेका बताइएको छ । यही कारण सरकारको आयु धेरै पर नजाने बताइएको छ ।
यस्तो अवस्थामा काँग्रेसबाट देउवा वा शेखर र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताइएको छ । काँग्रेसमा देउवाभन्दा शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्ने दबाब बढेको समाचार श्रोतले जानकारी दिएको छ ।
ओली नेतृत्वको सरकार ढल्ने व्यापक चर्चा
Facebook Comments Box