काठमाडौं/ माघ १३ गते भएको अखिल क्रान्तिकारीको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि मतदान भएको थियो । विधान अनुसार एक अध्यक्ष, खुल्ला ४ र समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्षका लागि निर्वाचन भएको थियो ।
अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६८६ मत ल्याएर विजयी भए । महासचिवमा रोशन थापा मागर ५९८ मतसहित निर्वाचित भए भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भएकी भनी निर्वाचन समितिले घोषणा गरेको छ ।
यसैगरी उपाध्यक्षहरूमा सन्दीप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९), अटल आचार्य (५७१), मदन ढकाल (५४१), विराज थापा (४८२), दीपा जैसी (४०८) र अभिमन्यू यादव (५७५) निर्वाचित भएका छन् ।
यो निर्वाचन विद्यार्थी संगठनको भए पनि यसलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय नेताहरुका बीचको प्रतिष्ठाको विषय बनाइएको छ । अखिल क्रान्तिकारीको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले जिते पनि समग्रमा दाहालमाथि ठूलो चुनौती देखिएको छ । महासचिव, कोषाध्यक्ष सहित अधिकांश पदाधिकारीमा जनार्दन शर्मा पक्षधरहरुले जितेका कारण दाहालको अवस्था धर्मराएको स्थितिमा पुगेको चर्चा चल्न थालेको छ । महासचिव जितेका रोशन थापा मगर र कोषाध्यक्ष जितेका फूलमाया राना मगर जनार्दन पक्षबाटै उम्मेदवार बनेका थिए ।
यस्तै, नौजना उपाध्यक्षमा जनार्दन पक्षधरकै पाँचजना निर्वाचित भएका बताइएको छ । सन्दीप पुन (६५७), ममता अधिकारी (८८२), कृष्ण बहादुर सुनार (४४५), उमेश कँडेल (३८९) र अभिमन्यू यादव (५७५) पनि जनार्दन समूहबाट उम्मेदवार बनेका बताइएको छ । अन्य पाँचमध्ये विजयप्रकाश सापकोटाको प्यानलबाट अटल आचार्य (५७१) र मदन ढकाल (५४१) मात्र निर्वाचित भए । उपाध्यक्षमा निर्वाचित विराज थापा (४८२) वर्षमान पुन निकट मानिन्छन् । यसैगरी उपाध्यक्षमै निर्वाचित दीपा जैसी (४०८) कुनै प्यानलमा नपरे पनि जित्न सफल भइन् ।
महासचिवमा मात्र होइन कि उपमहासचिवहरूमा शर्मा पक्षधरको हालिमुहाली भएको छ । भूगोलका आधारमा निर्वाचित हुने उपमहासचिवमध्ये कोशीबाट जितेका विपिन पोखरेल र उपत्यका विशेष प्रदेशबाट जितेका निरोज श्रेष्ठ बाहेक सातै जना शर्मा पक्षधर बताइन्छन् । गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) जनार्दन पक्षका बताइएको छ ।
उता, विपिन पोखरेल वर्षमान पुन निकट र निरोज श्रेष्ठ नारायणकाजी श्रेष्ठक पक्षका रहेका भनी भनिएको छ । सचिवहरूमा पनि जनार्दन पक्ष नै हाबी भएको बताइएको छ । वीरेन्द्र जिसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो जनार्दन शर्मा पक्षका भनी उम्मेदवार बनेका बताइएको छ । यसैगरी वर्षमान पुन पक्षबाट तिर्सना आले मगर र जितेन्द्र भण्डारी, नारायणकाजी पक्षबाट प्रेम जैसीले सचिव जितेका छन् । उता, खुला सचिवमा जितेका शिशिर बस्याल कुनै पनि पक्षमा खुलेका थिएनन् ।
अखिलको निर्वाचनले दाहाललाई धक्का
Facebook Comments Box