‘‘राजा’’को क्षेप्यास्त्रले नेताहरु त्रसित

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ यो साता ‘‘राजा’’ ज्ञानेन्द्र शाहको वक्तव्यले ततायो । यो साताभरि नै ‘‘राजा’’ ले फागुन ७ गतेको अवसर पारेर दिएको सन्देशले प्रमुखता पायो । ‘राजा’को उक्त सन्देशमा उहाँले देशको दूरावस्था आउनुमा के कस्ता कमी कमजोरी रहे भन्ने खुलाइएको थियो । त्यसमाथि अबका दिनमा आफूलाई साथ दिन उहाँले आव्हान गर्नु भएको थियो । यसरी ‘राजा’ले आव्हान गरेको कुरालाई विभिन्न नेताहरुले आफ्नै ढंगले व्याख्या गरे । कतिपयले प्रतिक्रिया नै सार्वजनिक गरे भने जनस्तरमा भने नयाँ आशा पलाएको झैं गरी सामाजिक सञ्जालहरु रंगिन पुगे । यसैगरी ‘राजा’सँग निकट मानिने राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल तथा दुर्गा प्रसाईको समूह निक्कै नै उत्साहित देखिए । ‘राजा’को यो वक्तव्य गणतन्त्रवादी नेताहरुका लागि भने क्षेप्यास्त्रको रुपमा रहन पुग्यो । ‘राजा’को क्षेप्यास्त्रका कारण त्यसको प्रतिरक्षा गर्ने कार्यमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु देखिए । दलका नेताहरुले प्रतिरक्षा गरे पनि जनस्तरमा भने यो सन्देशले ‘‘राजतन्त्र’ फर्किने’ सम्मको सन्देशको सञ्चार हुन पुगेको छ ।
सरकारमा रहेका दलहरुका लागि समेत ‘राजा’को उक्त वक्तव्यले चलचल ल्याउने कार्य गरेको छ । विगतमा पनि प्रजातन्त्र दिवसको अवसर पारेर ‘राजा’ले सन्देश जारी नै गर्ने गरे पनि यस पटक भने सन्देश औपचारिकतामा सीमित थिएन । आफूले राजगद्दी किन त्यागेको भन्ने कुरा ‘राजा’ले खुलाएका मात्र छैनन् कि आफूले त्यागेको कुराले उपलब्धी नभएको पनि खुलाएका छन् । यसैगरी मुलुकलाई चलाउने हो भने अबको दिनमा आपूm चूप लागेर बसी रहनुको औचित्य नहुने भन्ने आशय पनि ‘राजा’ले राखेको अवस्था छ । अझ नेताहरुलाई झड्का दिने कार्य भने ‘राजा’ले अब आफूलाई साथ दिनुपर्ने दिन आएको भन्ने आशय राख्नु रहेको थियो ।
पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको आमसभामा उल्लेख्य मानिसहरुको उपस्थिति थियो । त्यहाँ भाषण गर्ने नेताहरुले ‘राजा’को सन्देश उचित रहेको मात्र भनेनन् कि अब ‘राजा’ सहितको प्रजातन्त्रलाई स्थापित गराउनै पर्ने धारणा राखे । उनीहरु ‘राजा’लाई साथ दिन राप्रपा मात्र होइन कि जनता तयार रहेको भन्ने धारणा पनि राखे ।
उता, ‘राजा’को सन्देशले सबैभन्दा बढी त्रसित भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई देखिए । उनले ‘राजा’लाई त्यसरी वक्तव्य दिन नै बन्देज लगाइनुपर्ने तथा यस्तै हो भने थुन्नुपर्नेसम्मको कुरा भन्न भ्याए । भट्टराईको यस्तो धारणाले उनैमाथि सामाजिक सञ्जाल खनिन पुगेको थियो । ‘राजा’ देशको आवश्यकता रहेको तथा बरु बाबुराम जस्ताहरुको बोलीमा बन्देज आवश्यक रहेको भन्ने धारणा पनि राम्रैगरी उठेको थियो ।
राप्रपाको भेलामा भट्टराईको अभिव्यक्ति आपत्तिजनक रहेको तथा उनले आफ्नो भनाइमा माफी नमागे उनीमाथि कारबाही गरिनुपर्ने धारणा पनि राखियो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले त बाबुराम भट्टराईका पहिलेका अभिव्यक्तिहरु व्यक्ति हिंसायुक्त रहेका, कतिपय अवस्थामा बालबालिकालाई राजनीतिक रुपमा मर्न बाध्य पारिएका कुराहरु आफूहरुले सुरक्षित राखेको बताएका थिए । उनले आक्रोशित हँुदै भने, ‘हाम्रो सत्ता आएको दिन तिमी आतंककारीका ती अभिव्यक्ति तथा कर्मलाई आधार बनाउँदै थुन्नुपर्ने हुन्छ ।’
उता, राप्रपाकै नेता रविन्द्र मिश्रले पनि आफू सञ्चारकर्ममा रहेका बेलामा विभिन्न सूत्रहरुमार्फत तात्कालिन माओवादीका नेताहरुले ‘राजा’सँग सहकार्य गर्न तयार रहेको भन्ने कुरा भन्ने गरेको भनी उनीहरुको द्वैध चरित्रलाई उदांगो बनाउने कार्य गरे । उनले ‘राजा’सँग मिल्नका लागि बाबुराम भट्टराई, पुष्पकमल दाहालसमेत तयार रहेको कुरालाई उठाएका छन् । मिश्रका अनुसार आफूलाई अप्ठेरो परेको बेलामा ‘राजा’को साथ खोज्नेहरुले अहिले भने उल्टै ‘राजा’को सत्तोसराप गर्नु द्वैध चरित्र हो भनेका छन् ।
मिश्रले दाहाललाई समेत जोडेर आप्mना सूत्रहरुको हवाला दिएपछि भने दाहालले पनि स्पष्टीकरण दिन बाध्य हुनु परेको थियो । दाहालले केही कार्यक्रममा आफू ‘राजा’सँग मिल्न तयार रहेको भन्ने कुरा झुटो रहेको भनी स्पष्टीकरण दिएका छन् । मिश्र वा दाहाल को गलत हो भन्ने कुरा समयले बताउला ।
उता, प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि अहिले ‘राजतन्त्र’को संभावना नरहेको मात्र होइन कि औचित्य नै समाप्त भैसकेको भन्ने खालको धारणा राखेका छन् । उनले ‘राजा’लाई उचाल्ने प्रयास भैरहेको तर त्यो सफल नहुने भन्ने खालको धारणा पनि राखेका छन् ।
उता, भारतमा चलिरहेको महाकुम्भको अवसरमा विभिन्न नेताहरु सहभागी हुँदाका कुरालाई समेत जोडेर नेपालमा ‘राजतन्त्र’ फर्किने भन्ने खालको हावा चल्ने गरेको छ । महाकुम्भमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जाने कार्यक्रम स्थगित हुन पुगेको थियो । देउवाले भारतका प्रधानमन्त्रीदेखि उच्च पदस्थ राजनीतिज्ञहरुसँग भेट गर्न चाहेको अवस्थामा उनीहरुले चासो नदेखाएका कारण देउवाले अन्तिम समयमा आएर आफ्नो भ्रमण स्थगित गरेका थिए ।
देउवालाई उनीहरुले भेटको अवसर नदिइनुमा नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली कारक रहेको भनी चर्चा चल्ने गरेको छ । ओलीलाई भारतले नरुचाएको तथा ओलीलाई बुइ चढाएको भनी देउवासँग पनि भारतको सत्ता रिसाएको बताइने गरिन्छ । ओलीले आपूm प्रधानमन्त्री भएको सात महिना नाघिसक्दा समेत भारतले भ्रमणको निम्तो नदिएको भनी निरास भएको अवस्था छ । ओलीले भारत भ्रमणको व्यवस्था मिलाउनका लागि विभिन्न सूत्रहरुको प्रयोग गरे पनि भारतीय पक्ष अभैmसम्म पनि सकारात्मक हुन सकेको छैन ।
यो मामलालाई लिएर भारतीय पक्ष अहिले नेपालमा ‘राजतन्त्र’लाई स्थापित गराउन चाहिरहेको पो हो कि भन्नेसम्मको हल्ला चल्ने गरेको छ । ओलीलाई महत्व नदिनु, ओलीलाई साथ दिएकोमा देउवालाई पनि महत्व नदिनु तर ‘राजा’लाई भने विशेष महत्व दिने गरिनुले नेपालमा ‘राजतन्त्र’ फेरि फर्किने संकेतका रुपमा चर्चा चल्ने गरेको छ । अझ केही महिनाअघि ‘राजा’ ज्ञानेन्द्रले भुटानको भ्रमण गर्दा भुटानले राजकीय सम्मान दिनुलाई समेत ‘राजा’ सत्तामा फर्किने चर्चाको रुपमा आशंका गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *