गृहमन्त्रीको कार्य क्षमतामा गृहसचिव तगारो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विचौलिया र बुढानिलकण्ठको आशिर्वादबाट गृहसचिवको जिम्मेवारी सम्हालेका गोकर्णमणि दुवाडीका कारण गृहमन्त्री रमेश लेखकको कार्यकुशलतामाथि प्रश्न उठ्न थालेको छ ।
इमानदार, भद्र छवि, कानूनका ज्ञाता र क्षमतावान् मानिने मन्त्री लेखकलाई गृहसचिव दुवाडीको अक्षमताले असफलतातिर धकेलेको जानकारहरुले बताएका छन् । काँग्रेसबाट मन्त्री बनेकाहरुमध्ये मन्त्री लेखकको कार्यक्षमताका कारण प्रधानमन्त्री कार्यालयले हालै सार्वजजनिक गरेको प्रतिवेदनमा राम्रै अंक ल्याउन सफल भएकाले काँग्रेसको इज्जत जोगाएका छन् । मन्त्री लेखक काँग्रेसको आगामी महाधिवेशनमा महामन्त्रीका सशक्त उम्मेदवार मानिन्छन् । सुदूरपश्चिमका काँगे्रसी नेतामा लेखक उपसभापति पूर्णबहादुर खड्का पछि दोश्रो नम्बरमा परी सभापति शेरबहादुर देउवाको मन जित्न सफल भएका छन् ।
गृहमन्त्री बनेर मन्त्रालय भित्रिएपछि पूर्व गृहमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र काँग्रेसबाट गृहमन्त्री बनेका बालकृष्ण खाँणले भन्दा राम्रो काम गरी गृहमन्त्रालयको विगतको छविलाई सुधारोन्मुख दिशामा अघि बढाएको गृहमन्त्रालय श्रोतले जानकारी दिएको छ । मुलुकको विकास, सम्बृद्धि र शान्ति प्रकृयामा निरन्तर लागि परेका मन्त्री लेखकले अक्षम गृहसचिव दुवाडीबाट साथ, सहयोग नपाउँदा आलोचित बन्न पुगेका छन् । सशस्त्र प्रहरी ऐन, नेपाली प्रहरी ऐन र नागरिकता विधेयक जस्ता अत्यन्त संवेदनशील कार्यलाई अगाडि बढाएपछि सफल गृहमन्त्रीका रुपमा दर्ता भएका छन् । मन्त्रालयका नीतिगत सुधारहरुतर्फ केन्द्रित भएका मन्त्री लेखकले गृहमन्त्रालयका सचिव दुवाडीले सहसचिव र उपसचिवहरुलाई व्यवस्थापन नगरी जिम्मेवारविहीन बनाएर बरण्डामा थन्क्याइएपछि लेखकको कार्य सम्पादनप्रति प्रश्नचिन्ह खडा भएको छ ।
खासगरी गृहसचिव दुवाडी र प्रशासन महाशाखाका प्रमुख छवि रिजालको अक्षमताले जिल्लाहरुमा अधिकृतस्तरका कर्मचारीले निमित्तको जिम्मेवारी संचालन गर्दै आएको जानकारहरुले बताएका छन् । हाल ओखलढुंगा, खोटाङ्ग र रौतहट प्रजिअविहीन बनेको समाचार श्रोतले बताएको छ । यस्तै तेह्रथुम र मकवानपुर जिल्ला पनि सिडिओविहीन बनेको छ ।
यता, गत फागुन ४ गते गृहमन्त्रालय भित्रिएका नौजना उपसचिव र केही सहसचिवहरुले कुर्सीलाई नपाई हाजिर गरेर तलब पड्काइरहेको अवस्थामा सिडिओको पदपूर्ति समेत गर्न नसक्ने गृहप्रशासन र ७७ जिल्लाका सेवाग्राहीले कस्तो सेवा पाएका होलान् भन्ने व्यापक चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *