ओली नेतृत्वको सरकार ढल्ने व्यापक चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेस– नेकपा (एमाले) को गठबन्धन सरकार बनेको आठ महिना पूरा भै नौ महिना लागेको छ । नौ महिनाको अवधिमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार पूर्ण असफलताको घेराबन्दीमा परेको छ । खासगरी सरकारको कुशासनका कारण जनतामा असन्तुष्टि तीब्र आलोचना बढ्दै गएको छ ।
पछिल्लो समय जनतामा उत्पन्न भएको असन्तुष्टिलाई राजतन्त्रवादीहरुले धमिलो पानीमा माछा मार्ने अस्त्र बनाएपछि गणतन्त्रप्रति कालो बादल मडारिन थालेको छ । प्रधानमन्त्री ओलीको रवैया र अहंकारले व्यवस्थामाथि प्रहार हुन थालेको छ । गणतन्त्रवादीहरुलाई चक्मा खुवाउन आगामी १५ गते राजतन्त्र पक्षधरहरुले एक लाख मान्छे उतार्ने घोषणा गरेका छन् भने गणतन्त्र पक्षधरहरुले पनि चैत १५ गते नै आन्दोलन गर्ने बताएका छन् ।
सरकार असफल बन्दै गएपछि काँग्रेसभित्र ओली सरकारको विकल्प खोज्नुपर्ने आवाज बाक्लिँदै गएको छ । एमालेभित्र पनि युवा नेताहरुले मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठाउन थालेका छन् । यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको कुराकानीलाई अर्थपूर्णरुपमा हेरिएको छ । खासगरी सरकारले गर्ने नियुक्ति र सरुवा बढुवामा प्रधानमन्त्री ओलीको हस्तक्षेप बढ्न थालेपछि सहयात्री दल काँग्रेस पनि रुष्ठ बन्न थालेको छ ।
ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष दाहाल तयार भएको जानकारहरुले बताएका छन् । देउवाको नेतृत्वमा सहमतिको सरकार गठनमा ओली नमाने एमाले बाहेकको सरकार गठन हुने चर्चा चलेको छ । प्रतिगामीहरु सल्बलाउन थालेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल हुलाकी राजमार्ग केन्द्रीत अभियान र जनतासँगको सम्वादलाई स्थगित गरेर काठमाडौं फर्किएका थिए ।
दुई तिहाइको अहंकारले ओलीको कार्यशैलीका कारण लोकतन्त्रमाथि संकट आउने अवस्थामा पुगेपछि ओलीको विकल्प खोज्न शुरु भएको हो । राजावादीहरुले जुलुस ननिकाल्दा खतरामुक्त ठानिएको गणतन्त्र जुलुस निकालेपछि खतरामा परिणत भएको छ । खासगरी पछिल्ले समय काँग्रेससँगको खटपटले ओली नेतृत्वको सरकार ढलेर राष्ट्रिय सहमतिको सरकार बनाउने बारेमा पनि माओवादी केन्द्रका अध्यक्ष दाहालले कुराकानी शुरु गरेका छन् ।
नौ महिनासम्म सत्ताच्यूत हुन परेको अवस्थामा माओवादी केन्द्र पानी विनाको माछा जस्तै बनी सरकारमा जाने अनेक दाउपेचमा जुटेको छ । ओली नेतृत्वको सरकारमा कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरुले हाली मुहाली गर्दा सरकार नै धरापमा परेको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *