राजधानीमा आज शक्ति प्रदर्शनी: राजावादीमा सबै समेटिने, कुलमान समर्थक आन्दोलित

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ देशको राजधानी काठमाडौंमा आज राजनीतिक शक्ति प्रदर्शनी हुने भएको छ । देश अहिले दुई धु्र्रव अर्थात राजावादी र गणतन्त्रवादीको कित्तामा धु्रवीकृत भई रहेको हालको अवस्थामा शक्ति प्रदर्शनी हुने भएको हो । दुवै कित्तामा रहेकाहरुले आजैको दिन शक्ति प्रदर्शनी गर्ने भनेकाले सरकारले उच्च सतर्कता अपनाउने भएको छ । राजावादीहरुको प्रदर्शनीका लागि काठमाडौंको तीनकुने क्षेत्र सरकारले तोकेको छ । यसैगरी समाजवादी मोर्चाको नाममा गणतन्त्रवादीहरुको प्रदर्शनीका लागि भृकुटीमण्डप तोकिएको छ । सोही कारण आज शुक्रबार काठमाडौं उपत्यकाको सवारी व्यवस्था प्रभावित पनि हुने देखिएको छ । तीनकुने क्षेत्रमा हुने प्रदर्शनीका कारण भक्तपुर र ललितपुरबाट काठमाडौं प्रवेश गर्ने सवारी साधनहरुलाई असर पार्ने देखिएको छ । यसैगरी काठमाडौंको शहरी क्षेत्रको मुटु मानिने भृकुटीमण्डपमा हुने प्रदर्शनीले शहरी क्षेत्रको आवागमनमा असर पार्ने देखिन्छ । यसरी सरकारका लागि एकातिर सवारी व्यवस्था मिलाउन गाह्रो अवस्था देखिन्छ भने अर्कातिर आन्दोलनकारी कसरी प्रस्तुत हुने हुन् त्यसमा राजनीतिक प्रदर्शनीको अवस्था देखिने हुन्छ ।
राजा ज्ञानेन्द्रले आफूले जनताको नासो जनतालाई नै भन्दै राजगद्दीलाई सहज रुपमा त्यागिदिनु भएको थियो । गणतन्त्रलाई सहज रुपमा स्वीकार्नु भएका ज्ञानेन्द्र त्यसपछि पनि स्वदेशमै बसी आफ्नो कर्ममा लागि रहनु भएको छ । पछिल्लो समय भने दलका नेताहरुको हर्कतबाट दिक्क भएका जनता राजतन्त्रको पक्षमा देखिन थालेका छन् ।
राजा राख्दा एकजनामात्र राजा हुने तर अहिलेको संघीयताका कारण धेरै राजाहरुको अवस्थामा रहेको भनी जनतामा निराशा छाएको छ । जनताले बरु एकजना राजा र राजतन्त्र देशको आवश्यकता हो भन्ने सन्देश दिन थालेका छन् । यसै कुरालाई बुझेर ज्ञानेन्द्रले पनि गत फागुन ७ गतेको सन्देशमा आफू अघि बढ्न तयार रहेको तथा सबैको साथ चाहेको कुरा राख्नु भएको थियो ।
राजा ज्ञानेन्द्रको उक्त सन्देशलाई नेपालीजनले आह्वानको रुपमा बुझेका छन् । सोही कारण राजावादी तथा राजतन्त्रवादीहरु एउटै कित्तामा उभिएको अवस्था छ । पछिल्लो समय राजा ज्ञानेन्द्र जाने हरेक कार्यक्रम तथा स्थलमा जनता स्वःस्फुर्त रुपमा पुग्ने गरेका छन् । राजाप्रतिको आकर्षणका कारण राजनीतिक दलका नेताहरुमा त्रास छाएको छ । उनीहरु अहिले पक्ष प्रतिपक्ष नभनी गणतन्त्रवादीको नारा दिंदै एक ठाउँमा उभिने अवस्थामा पुगेका छन् ।
राजा वा राजतन्त्रलाई कमजोर ठान्ने गरेका दलका नेताहरुप्रति वितृष्णा जागी रहेको अधिवक्ता भवानी प्रसाद अधिकारी बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो अवस्था आउनुमा दलका नेताहरुप्रतिको वितृष्णा तथा राजा सबैका साझा भन्ने मान्यता विकास हुँदै जानु हो ।’ नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरी आफूलाई सच्याउनु उचित देख्ने अधिकारी भन्छन्, ‘राजनीतिमा सधैं एउटै कुरा लागू हुँदैन । हिजो कांग्रेसले संवैधानिक राजतन्त्र छोडी गणतन्त्रलाई मान्नु गल्ती थियो भन्ने कुरालाई अहिले मनन् गर्न सक्ने हो भने देश आफ्नो माटो अनुसारको राजनीतिमा प्रवेश गर्न सक्ने अवस्था आएको छ ।’
राजावादीहरुले गर्ने भनेको दिन नै गणतन्त्रवादीहरुलाई पनि शक्ति प्रदर्शनी गर्न दिने सरकारी नीतिको भने आलोचना भैरहको छ । सरकार आपंैm मुठभेडमा जान चाहिरहको भन्ने कुरा यो अवस्थाले देखाएको बताइन्छ । राजावादीहरुले चैत्र १५ गते अर्थात आजका लागि आफ्नो कार्यक्रम घोषणा गरिसकेको अवस्थामा सोही दिन नै गणतन्त्रवादीहरुलाई पनि कार्यक्रम गर्न दिनु हुँदैनथ्यो, अर्को दिन दिनुपथ्र्यो भन्ने आमबुझाइ रहेको छ ।
आज हुने प्रदर्शनीहरु शान्तिपूर्ण रुपमा भएको खण्डमा सरकारको नीति सही नै साबित हुन सक्ला तर त्यसो नभई मुठभेड भयो भन्ने त्यसको अपजस सरकारमै जाने देखिन्छ । यसरी गणतन्त्रको पक्षमा मान्छे उतार्न सरकारमा रहेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि लागि परेको कुरालाई भने जनस्तरबाट विरोध गरिँदै आएको छ । एमालेका अध्यक्ष रहनु भएका खड्गप्रसाद शर्मा ओलीले आपूm प्रधानमन्त्री भएको कुरालाई बिर्सिएर आप्mना दलका युवाहरुलाई उचाल्ने कार्य गरिरहेको भनी आलोचना पनि भैरहेको छ ।
आज हुने भनिएको राजावादीहरुको प्रदर्शनीमा राप्रपा बाहेकका राजावादीहरु सबैको सहभागिता हुने बताइएको छ । राजतन्त्र स्थापना गर्नका लागि भनी वयोवृद्ध नवराज सुवेदीको संयोजकत्वमा गठित जनआन्दोलन समिति अन्तर्गत अन्य सबै परिचालित हुने अपेक्षा राजावादीहरुले गरेका छन् । यसमा राप्रपा नेपाल, दुर्गा प्रसाद प्रसाईँको समूह लगायत सक्रिय रहने अपेक्षा राजावादीहरुले गर्दै आएका छन् ।
उता, राप्रपाले भने चैत्र २६ गते राजधानी काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ । उक्त दिन ऐतिहासिक दिन रहेकाले पनि राप्रपाले काठमाडौंमा प्रदर्शनी गर्ने भनी निर्णय गरेको हो । यसरी राजावादी शक्तिको रुपमा आफूलाई उभ्याउने गरेको राप्रपाले समेत सुवेदीको संयोजकत्वमा स्थापित समिति अन्तर्गत रही कार्यक्रमहरु गरेका खण्डमा राजावादीहरुको प्रभाव झनै बढेर जाने भनी चर्चा चल्ने गरेको छ ।
यसरी आन्दोलनको राप विभिन्न तहबाट बढिरहेको अवस्थामा कुलमान घिसिङलाई पदमुक्त गर्ने कार्य सरकार पक्षबाट भएकोमा त्यसको विरोध हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा रही लोडसेडिङलाई हटाउन तथा प्राधिकरणलाई नाफामा लान सफल घिसिङलाई पूर्वाग्रही भएर सरकारले हटाएको भनी जनस्तरबाट घिसिङको पक्षमा आवाज उठिरहेको अवस्था छ ।
घिसिङका समर्थकहरु सडकमा उत्रिएका छन् । काठमाडौं उपत्यकाबाट शुरु भएको यस्तो आन्दोलन अहिले देशव्यापी रुपमा विस्तार हुँदै गएको छ । घिसिङलाई चार महिना कार्यकाल बाँकी हुँदै बर्खास्त गर्ने सरकारको निर्णयप्रति सरकारमै रहेका दलहरुमा समेत मतैक्यता हुन सकेको छैन । सरकारमा रहेका ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र नै उक्त निर्णयको विरोधमा आवाज उठिरहेको छ ।
यो मामलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले मसला पाएको अवस्था छ । घिसिङको लोकप्रियतालाई आप्mनो दलको पक्षमा पार्न चाहिरहेको माओवादी केन्द्रदेखि राप्रपा, रास्वपा लगायतका प्रतिपक्षी दलहरु सरकारको विरोधमा सडकदेखि सदनसम्म उत्रिएका छन् । यो विषयलाई लिएर प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत दन्तबझानको अवस्थामा दलहरु पुगेका छन् ।
उता, राजावादी र घिसिङको विषयमा भैरहेका आन्दोलनप्रति देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने मौनजस्तै देखिएको छ । लोकतान्त्रिक व्यवस्थामा आन्दोलन, माग, प्रदर्शनी जस्ता कुरा सामान्य हो भन्ने कांग्रेसको बुझाइ रहेको चर्चा छ । कांग्रेसले कुनै पनि प्रदर्शनीको समर्थन पनि गरेको छैन । यसैगरी कांग्रेसका नेता कार्यकर्ताहरुले गणतन्त्र वा राजतन्त्रको पक्षमा आन्दोलन गर्ने सोच बनाएको पनि देखिँदैन । कम बोल्न रुचाउने कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले राजतन्त्रलाई विकल्प ठान्नुपर्ने अवस्था नआएको भन्ने आशय मात्र राख्नु भएको छ । उहाँ अहिलेको व्यवस्थालाई उल्ट्याउनु पर्ने अवस्था नआएको भन्नेमा दृढ हुँदै भइरहेका कमी कमजोरीहरुलाई दलहरुले सच्याउँदै जानुपर्ने मान्यतालाई आफ्नो धारणाको रुपमा राख्दै आउनु भएको छ ।
यसरी देशमा विभिन्न किसिमका आन्दोलन भैरहेको अवस्थामा देशको प्रधानमन्त्री सबैको साझेको रुपमा देखापर्नुपर्नेमा त्यस विपरित आफ्नो दल, त्यसमाथि आफ्नो गुटको पक्षमा देखिने गरेको भनी ओलीको कार्यशैलीको आलोचना पनि भैरहेको छ ।

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *