सुस्त गतिमा सरकार : आन्दोलनै आन्दोलन, सर्वसाधारण मारमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ करिब दुई तिहाईको सरकार भएर पनि वर्तमान सरकारले गति लिन नसकेको देखिएको छ । प्रमुख दुईठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले सरकारमा रहेको यो स्थितिमा समेत सरकारले जनताको पक्षमा खासै गति लिन नसकेको भनी आलोचना भैरहेको छ । यस्तो हुनुमा प्रमुख रुपमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई दोष दिने कार्य भैरहेको छ । सरकार चलाउने मुख्य व्यक्ति नै प्रधानमन्त्री हुने भएकाले पनि दोषको भार उहाँमाथि नै लागेको बताइएको छ । करिब दुई तिहाइको सरकार बनेको यो अवस्थामा सरकारले धेरै राम्रा कार्यहरु गर्न सक्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको भनी आलोचना भैरहेको छ । सरकारमा रहेका मन्त्रीहरुमात्र होइन कि प्रशासनतन्त्र पनि बेकारका जस्ता देखिन थालेका छन् ।
प्रधानमन्त्री ओली देशका लागि केही गरौं भनी कम्मर कसेर लाग्नुपर्नेमा विभिन्न जिल्लामा उद्घाटनमा रमाउन थालेका छन् । यसअघि नेकपा (माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई हटाउँदा हालका सत्तासीन दलहरुले संविधान संशोधनको वाचा गरेका थिए । सरकार बनेको १० महिना नाघिसक्दा समेत सरकार कछुवा गतिमै रहेको छ । सरकारले आफ्ना लागि मात्र कार्यहरु गरिरहेको तथा आफन्तहरुका लागि रमाउने गरेको देखिएको छ । जनताको पक्षमा आवाज उठाउनेहरुलाई दबाउने कार्यमा सरकार नै लागेको देखिएको छ ।
बजारमा महंगी बढेको तथा विभिन्न शक्तिहरु आफ्ना मागहरु सहित राजधानीका सडकहरु तताउने कार्यमा छन् । एसइइको परीक्षा सकिएको दुई हप्ता नाघिसक्दा समेत उत्तर पुस्तिका परीक्षणको कार्य अघि बढ्न सकेको छैन । उत्तर पुस्तिका परीक्षण गर्नुपर्ने शिक्षकहरु विभिन्न मागहरु सहित राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरुलाई सरकारले हिजो बिहीबार पनि वार्ताको लागि बोलाएको थियो । सरकारको काम वार्ता गर्ने, सहमति गर्ने तर सहमति कार्यान्वयन नगर्ने भएकाले आन्दोलनरत पक्षहरुले सहमतिमा विश्वास गर्न सकेका छैनन् ।
शिक्षकहरुको माग नयाँ नभएको बताइएको छ । यसअघि नै सरकारले माग पूरा गर्ने भनी भनेका कुराहरु पूरा नगरेको भनी उनीहरु आन्दोलित भएका हुन् । त्यसमाथि उनीहरुले राम्रो शिक्षण गर्न नसकेको भनी प्रधानमन्त्रीले मर्ममै प्रहार गर्ने कार्य गर्नु भएको थियो । ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराउन सक्ने शिक्षकहरुको तलब किन बढाउने भनी सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले बोलेका कारण उनीहरु झनै भड्एिको अवस्था छ ।
उता, शिक्षकहरु मात्र होइनन् कि राजनीतिक दलहरु नै आन्दोलित अवस्थामा छन् । प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायत राजावादीहरु आन्दोलित अवस्थामा छन् । यसैगरी राष्ट्रिय जनमोर्चा समेत आन्दोलनका कार्यक्रम सहित आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशले थुनामा रहेको अवस्था छ । लामिछाने थुनामा रहेका कारण उक्त दलका नेता कार्यकर्ताहरु के गरुँ के नगरुँको अवस्थामा छन् । यस्तो अन्यौल हुनुमा लामिछानेलाई सरकारले भन्दा पनि अदालती आदेशले थुनामा राखिनु रहेको छ । यसै कुरालाई मुद्दा बनाएर रास्वपा पनि आन्दोलनको तयारीमा लागेको देखिन्छ ।
यसैगरी सत्ताबाट बाहिरिएदेखि नै सरकारको कटु आलोचक बनेको नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल लगायतका दलहरु समाजवादी मोर्चाको नाममा आन्दोलित देखिएका छन् । सरकारै रहेर नेकपा (एमाले पनि विभिन्न नाममा आन्दोलन चलाई रहेको अवस्था छ ।
यसरी सरकारमा रहेका तथा विपक्षमा रहेकाहरु आन्दोलनमै केन्द्रित भएको हालको स्थितिमा सर्वसाधारण भने मर्कामा परेका छन् । सरकारले सर्वसाधारणको पक्षमा केही गरिदेला वा पक्षमा लाग्दा भन्नेहरुका लागि सरकारको गतिविधिले समस्यामा पारिदिने गरेको छ । काठमाडौंका विभिन्न स्थानमा दैनिकजसो हुने गरेका आन्दोलनका कारण ती क्षेत्रमा भाडामा संचालन गर्ने व्यापारी व्यवसायीहरु धन्दा नचलेकाले बिजोग अवस्थामा पुगेका छन् । यसैगरी किसानहरुदेखि लिएर मजदुरहरुसम्मले सन्तोषको सास फेर्न पाएका छैनन् । व्यापार व्यवसाय नहुँदा तथा कामहरु नपाउँदा सर्वसाधारणको दैनिकी नै कष्टकर बन्दै गएको छ ।
यस्तै, विश्वको प्रदूषित शहरको शीर्ष स्थानमा काठमाडौं देखिँदा त्यसले होटल, पर्यटन तथा विमान व्यवसायमा समेत समस्या पार्ने गरेको छ । यसैगरी प्रदूषणका कारण काठमाडौंबासीको स्वास्थ्यमा समेत असर परिरहेको छ । यस्तो अवस्थामा सरकारले विकास निर्माण वा जनताको पक्षमा कार्यहरु गर्नुको साटो प्रधानमन्त्री ओली विभिन्न जिल्ला भ्रमणमा मस्त देखिएका छन् । सरकारमा रहेका मन्त्रीहरु राष्ट्रिय ढुकुटी रित्याउँदै विदेश भ्रमणमा मस्त देखिएका छन् । प्रधानमन्त्री ओली समेत विदेश भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई ठूलो महत्व दिएर प्रचारबाजीमा रहेको देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *