काठमाडौं/ सिंहदरबारमा निर्माण भै रहेको संसद भवन निर्माणको शिलान्यास भएको पाँच वर्ष बढी भैसक्दा पनि अधुरै छ ।
तात्कालिन प्रधानमन्त्री एवं हाल पनि प्रधानमन्त्री रहेका खड्गप्रसाद शर्मा ओलीले २०७६ साल असोज १ गते त्यसको शिलान्यास गरेका थिए । तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको संसद भवन आज २०८२ जेठ ९ गतेसम्म अझै १६ प्रतिशत काम गर्न बाँकी रहेको सम्बद्ध निकायले बताएको छ ।
राष्ट्रिय गौरवका योजना भित्र पर्ने निर्माणाधीन संघीय संसद भवन शहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ । हाल शहरी विकास मन्त्रालयको नेतृत्व नेपाली काँग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले गरेका छन् । सिंह उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हालेर सरकारमा गएको १० महिना वितिसकेको छ । गत केही समय अगाडि सिंहदरबारमा बसेको राज्य निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसदहरुले ठेकेदारले सरकारलाई नटेरेको बताएपछि उपप्रधान तथा मन्त्री सिंह निचोरेको कागती जस्तो बनेका थिए ।
उक्त बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडु, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेसकै सांसद देवप्रसाद तिमिल्सिना, एमालेका सांसद लालप्रसाद सावा लिम्बुले कटाक्ष गर्दै दुई सय दिनभित्र काम नसके कानून अनुसार ठेक्का रद्ध गर्ने र जरिवाना लगाउने बताएका थिए । हाल शहरी विकास मन्त्रालय अन्तर्गत शहरी तथा भवन विभाग र विभाग मातहत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले संघीय संसद भवनको प्रगती विवरण, जनशक्ति र कामको नियमित रुपमा अनुगमन गर्ने गर्दछ ।
विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक सुनिल ठाकुर र भवन विभागका महानिर्देशक मचाकाजी महर्जनलाई ठेकेदारले नटेर्दा निर्माण अवधि लम्बिरहेको जानकारहरुले बताएका छन् । महानिर्देशक महर्जनको भद्रपनको फाइदा उठाउँदै ठेकेदारले समयमै जनशक्ति नलगाउने बरु खुरुखुरु बिल भुक्तानी गर्ने गरेकाले गल्ती गर्ने जो सुकै भए पनि कारबाही गर्नुपर्नेमा आयोजना निर्देशक ठाकुर ठेकेदारको कमिसनमा लट्पटिइरहेको समाचार श्रोतले बताएको छ । काम नगर्ने जोकोहीलाई पनि दोषी करार गरेर कारबाही गर्नुपर्ने सांसदहरुको माग छ ।
