अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक बनिरहेको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले समानान्तर समिति चलाउन खोजेको आरोप लगाए ।
हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा एनआरएनए अमेरिकाद्वारा आयोजित कार्यक्रममा त्यस्तो धारणा राखेका हुन् । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले परराष्ट्र मन्त्रालयले मान्यता दिएर पत्राचार गरिसक्दा पनि प्रधानमन्त्री ओलीले अहिले पनि बद्री के.सी. पक्षलाई सहमति गर्न नदिएको आरोप लगाए । उनले भने, ‘मे ३–४ को अधिवेशन सकिएपछि बद्रीजीहरू प्रधानमन्त्रीलाई भेट्न गएका बेला उक्साएर कार्यक्रम आयोजना गर्न लगाउनु भयो । आफै कार्यक्रममा गएर तपाईँहरू नै आधिकारिक हो भनेर बोलेपछि एनआरएनएमा एकताको वातावरण बिथोलिएको छ ।’
श्रेष्ठले प्रधानमन्त्रीकै कारण आफूहरू पनि हामी आधिकारिक हौं भन्दै हिँड्नु परेको बताए । उनले भने, ‘हामी नै आधिकारिक हो भनेर हिँड्दाहिँड्दै डेढ महिना बिती सक्यो । हामीले अहिले पनि प्रष्टरुपमा भन्न चाहन्छौँ, एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिका लागि आधिकारिकताको पुष्टि गर्नुपर्ने विषय नै होइन र हामीलाई त्यो बाध्यता पनि छैन ।’
के.सी. समूहमा रहेका हेमराज शर्माले सम्मानित अदालतका फैसलाहरूलाई आफू अनुकूलको व्याख्या गर्दा पनि अप्ठेरो परेको बताइएको छ । एनसीसीहरुले पनि के.सी. पक्षलाई प्रश्न गर्नुपर्ने बेला आएको श्रेष्ठले उल्लेख गरे । ‘यदि के.सी. पक्षले आफूलाई आधिकारिक दाबी गरिरहेको छ भने अब एनसीसीहरुले लिखित रूपमा हामी एकता महाधिवेशनद्वारा निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मान्दछौँ भनेर सार्वजनिक रूपमा भन्न सक्नुपर्छ,’ उनले भने ।
एनआरएन सम्बन्धी मुद्दा अहिले पनि अदालतमा रहेको र त्यहाँबाट आउने फैसला पूर्णरुपमा आफूहरूले पालना गर्ने पनि बताए । उनले भने, ‘हामी पूर्ण इजलासबाट आउने फैसलाको सम्मान गर्छौँ, तर अहिले हाम्रो कार्यसमितिलाई काम रोक्न न्यायालयबाट कुनै पनि अन्तरिम आदेश आएको छैन ।’
संघका महासचिव बि.आर. लामाले एनआरएनए अमेरिकाले एकताको पक्षमा गरेको पहलबाट संसारभरि नै सकारात्मक सन्देश गएको बताए । एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नवराज सुवेदीको संयोजकत्व र उपाध्यक्ष अनिता परियारको सहसंयोजकत्वमा आयोजित उक्त कार्यक्रममा अमेरिकाका करिब ३५ वटा स्थानीय संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक
Facebook Comments Box
