माओवादी केन्द्रमा पुनप्रति बक्रदृष्टि

Nayabimarsha (Weekly Newspaper from Nepal)

कठमाडौं/ नेकपा (माओवादी केन्द्र) मा पूर्वउपराष्ट्रपति रहेका नन्दबहादुर पुनको प्रवेशले भित्रभित्रै अन्य नेताहरु रुष्ट बनेको श्रोतले बताएको छ ।
पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उत्तराधिकारीका रुपमा भित्र्याएको चर्चा चलेको छ । अध्यक्ष दाहालले पुनलाई उपाध्यक्षको जिम्मवारीसहित भित्र्याएपछि पूर्वउपराष्ट्रपतिको मान, मर्यादा र गरिमालाई खण्डित बनाइएको जानकारहरुले बताएका छन् । माओवादी केन्द्रमा पुनको प्रवेशले पार्टी फुटको अवस्थामा पुगेको गाइँगुइँ चल्न थालेको छ ।
पछिल्लो समय माओवादी केन्द्रमा जनार्दन शर्मा र वर्षमान पुनबीच रस्सारस्सी चल्दै आइरहेको छ । नन्दबहादुरलाई उपाध्यक्षको जिम्मेवारी दिइएपछि अध्यक्ष दाहालका विश्वास पात्र एवं वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत चिण्नि पुगेको बताइएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ समेत चिढिएपछि अध्यक्ष दाहालको पार्टीमा पकड गुम्दै गइरहेको चर्चा हुन थालेको छ । अब अध्यक्ष दाहालका विश्वासपात्र ठानिएका नेताहरुमा महासचिव देवप्रसाद गुरुङ, वर्षमान पुन र मातृकाप्रसाद यादव मात्र रहेको र अन्य नेताहरुले विकल्पका रुपमा जनार्दनलाई साथ दिन थालेको बताइएको छ । यहि अवस्था अघि बढिरहेमा माओवादी केन्द्र फुट्ने अवस्थामा पुगेको बताइएको छ ।
माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष दाहालले शर्मा र पुनको महासचिवमा रस्सारस्सी चलेपछि गुरुङ्गलाई नियुक्त गरेका थिए । त्यसपछि पार्टीभित्रको अन्तर संघर्षले भित्रभित्रै झन उग्र रुप लिएको छ । माओवादी केन्द्रमा सिद्धान्त र विचारको भन्दा सत्ता र शक्तिको लागि मात्र देखिने गरेको अन्तरकलह २०८४ को निर्वाचनसम्म पुग्दा छताछुल्ला हुने र पार्टीलाई लाभभन्दा बढी हानी हुने बताइएको छ ।
माओवादी केन्द्र जनताको मुद्दामा भन्दा पद र पैसामामात्र विगत १८ वर्षदेखि रमाउने गरेको छ । पछिल्लो एक वर्ष काँग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि माओवादी केन्द्र ‘पानी बिनाको माछा’ जस्तो बन्न पुगेको छ । त्यसैले माओवादीले काँग्रेस एमालेको गठबन्धन सरकार भत्काएर फेरि सत्तामा जाने अनेक प्रपञ्च गर्दै आएको अवस्थामा गठबन्धन सरकारले पनि जनतालाई डेलिभरी र सुशासन दिनुको सट्टा भ्रष्टाचारमा केन्द्रित भएको आरोप लागेको छ ।
 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *