काठमाडौं / आगामी भाद्र महिनाको अन्तिममा भारत भ्रमणमा निस्किने तयारी गरेका नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पुराना अधिकांश मन्त्रीहरु हटाएर नयाँ मन्त्री ल्याउने तयारी थालेको समाचार श्रोतले बताएको छ ।
मन्त्रिपरिषद पुनर्गठनबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच सहमति जुटिसकेको बताइएको छ । प्रधानमन्त्री ओलीले १ वर्षको कार्यकालमा परिणाम देखाउन नसक्ने र जनताको पक्षमा काम गर्न नसकेका मन्त्रीहरुलाई हटाउन लागेका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा परराष्ट्रमन्त्री डा. आरजु राणा, शिक्षामन्त्री रघुजी पन्त र हालै नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने बाहेक अरु सबैलाई परिवर्तन गरिने भएको स्रोतले बताएको छ ।
हाल कांग्रेसबाट उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृह–रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणा, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, कानूनमन्त्री अजय चौरासिया, वन तथा वातावरण ऐनबहादुर शाही, खेलकूदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे र ऊर्जामन्त्री दीपक खड्का गरी १० जना मन्त्रिमण्डलमा रहेका छन् । यस्तै, नेकपा (एमाले) बाट प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा अर्थ– विष्णुप्रसाद पौडेल, भूमिसुधार– बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात– देवेन्द्र दाहाल, शिक्षा– रघुजी पन्त, सामान्य प्रशासन– भगवती न्यौपाने, सञ्चार तथा सूचना प्रविधि– पृथ्वीसुब्बा गुरुङ्ग र उद्योगमन्त्री दामोदर भण्डारी छन् । यसैगरी जनता समाजवादी पार्टी (अशोककुमार राई नेतृत्व) बाट महिला तथा बालबालिका नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री बनेका छन् ।
यी सबै मन्त्रीहरुले सुशासन, सम्वृद्धि तथा जनताको पक्षमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा मात्र काम गर्न थालेपछि सत्तारुढ दलभित्रै असन्तुष्टि चुलिएको छ । पुनर्गठित मन्त्रिपरिषदमा काँग्रेसलाई अर्थ मन्त्रालय दिएर एमालेले गृहमन्त्रालय लिने दाउपेच गरे पनि काँग्रेस सभापति देउवाले गृह नछाड्ने अडान लिएको समाचार श्रोतले बताएको छ । एमालेलाई गृह मन्त्रालय दिँदा हालका गृहमन्त्री रमेश लेखक नै अप्mठयारोमा पर्न सक्ने भएकाले काँग्रेसले गृह लिएर नयाँ व्यक्तिहरु पठाउने गृहकार्यमा जुटेको छ ।
