काँग्रेस–एमाले र अन्य दलमा नेतृत्व लिने होडबाजी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालको राजनीतिमा यतिबेला नेतृत्व लिनको लागि हानाथाप शुरु भएको छ । नेतृत्वको होडबाजीले सबै राजनीतिक दलहरुलाई त्रसित बनाएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) मा तीब्र बन्दै गै रहेको नेतृत्वको होडबाजी अन्य राजनीतिक दल राप्रपा, रास्वपा र माओवादी केन्द्रमा पनि देखिएको छ ।
काँग्रेसमा गुट उपगुट चल्ने र घात अन्तर्घात गर्ने पुरानै प्रवृत्ति भएकोले यसलाई खासै महत्व दिइएको छैन । पार्टी सभापति शेरबहादुर देउवाको विकल्पका रुपमा दर्जन बढी आकांक्षीहरु देखिएका छन् । आकांक्षीको भीड काँग्रेसमा देखिए पनि १५ औं महाधिवेशन कहिले २०८२ मंसिरमा कि २०८३ मंसिरमा भन्नेमा अलमल छ । काँग्रेसमा देउवाको आशिर्वाद लिन संस्थापन पक्षको नाममा सात भाइले सकृयता बढाएका छन् ।
सात भाइमा डा. शशांक कोइराला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह (हाल उपप्रधान तथा शहरी विकास मन्त्री) र प्रवक्ता रहेका छन् । आफ्नै हिसाबले डा. शेखर कोइराला र महामन्त्री गगन कुमार थापाले नेतृत्व लिन देश दौडाहा शुरु गरिसकेका छन् । सूक्ष्म रुपमा पूर्णबहादुर खड्काले भित्रभित्रै तयारी गरिरहेको समाचार श्रोतले बताएको छ ।
यी नेताहरुमध्ये कसलाई नेतृत्व हस्तान्तरण गर्ने भन्नेबारे आजसम्म मुख खोलेका छैनन् । यता सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक राजनीतिले मोहोल तातेको छ । फेरी एक कार्यकाल पार्टी नेतृत्वमा आउन अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गरेको प्रयासलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा भित्रिएर धक्का दिन खोजेपछि एमालेमा ओलीको विकल्पले कित्ताकाट शुरु भएको छ ।
एमालेमा विद्याको इन्ट्रीले धु्रवीकरण हुन थालेको छ । त्यस्तै, नेतृत्वको महत्वकांक्षाले ३५ वर्षपछि पुष्पकमल दाहालको विकल्प खोज्न थालिएको छ । दाहाललाई पाखा लगाउन जनादर्न शर्माले न्वारनदेखिको बल निकालेका छन् । एउटा जीवन्त पार्टीमा आन्तरिक प्रतिस्पर्धा भन्दा पद र पावरका लागि हुने लडाइँले नेताहरुको चरित्र उदांगो समेत बनाएको छ ।
नेपालका प्रमुख राजनीतिक दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्र सिद्धान्त र विचारभन्दा बाहिर गएर पद र पैसाको लागि मरिहत्ते गर्ने र हिरिक्क हुने प्रवृत्तिले यी दलहरु प्रति जनताको आशा एवं विश्वास टुट्न थालेको जानकारहरुले बताएका छन् ।
यता, मुलुकको चौथो शक्ति रास्वपा र पाँचौ राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि अवस्था उस्तै छ । रास्वपामा सभापति रवि लामिछानेको कार्यशैलीलाई मुकुल ढकाल र सोविता गौतमले चुनौती दिइरहेका छन् । राप्रपामा अध्यक्ष राजेन्द्र लिंगेदनलाई पार्टी उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाले टक्कर दिँदै आइरहेका छन् । अन्य साना दलको हालत पनि टुटुफुट नजिक रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *