भक्तपुर/ नेपालको राजनीति स्थिरतातर्फ जान पाएको छैन । सरकारमा रहेका तथा विपक्षमा रहेका दलहरुमा आन्तरिक समस्या बढिरहेका छन् । सबैजसो दलहरुमा आन्तरिक समस्या झांगिएको कारण समस्या बढिरहेको देखिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) भित्रको गुटगत समस्याले गर्दा ती दल झनै समस्यामा देखिएका छन् । मुलुकका सत्तारुढ दलहरु नै आन्तरिक समस्यामा परेकाले त्यसको नकारात्मक असर मुलुकले नै व्यहोर्नु परिरहेको छ ।
कांग्रेसको सभापतिमा शेरबहादुर देउवा हुनुहुन्छ । देउवा सभापति तथा अब सभापति नउठ्ने अवस्थामा रहनु भएकाले पनि यो बेला उहाँ आफू अनुकूलका निर्णयहरु गराउन लागिपर्नु भएको छ । उहाँले विभिन्न नियुक्ति तथा भर्नामा आपूm अनुकूलका मानिसहरुलाई राख्न चाहनु भएको देखिन्छ । त्यसैले पनि उहाँ नियुक्ति आदिका लागि कुनै पनि निकायबाट अवरोध हुने अवस्था आएमा त्यसलाई हटाउन चाहिरहनु भएको छ ।
यसको पछिल्लो उदाहरणमा उपसभामुख इन्दिरा राना मगरको विषय आएको छ । करिब दुई वर्षअघि उपसभामुखले अमेरिकाको राजदूताबासलाई कूटनीतिक मर्यादा विपरित पत्राचार गरेको विषय गत वर्ष उठेको थियो । गत वर्ष उपसभामुुखमाथि महाअभियोग लगाउनेसम्मको कुरा उठेको थियो । यस्तो अवस्थामा उक्त विषय त्यत्तिकै थाँती लागेर बसेको अवस्था थियो ।
अहिले उपसभामुख निर्वाचित भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदलाई अवरोध गर्ने कार्य गर्दै आएको छ । अवरोध गर्ने मुख्य विषयमा भिजिट भिजा प्रकरण हो । संसदमा अवरोध गरिरहेको हालको अवस्थामा सत्तारुढ दलहरुले उपसभामुखको पुरानो विषयलाई उठाएर महाअभियोग लगाउने भनिरहेका छन् ।
यसरी उनलाई अवरोध ठानिनुमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पनि आफू अनुकूलका व्यक्तिहरुलाई नियुक्ति दिन नपाउनु हो । संवैधानिक र न्यायिक परिषदमा उपसभामुख पदेन सदस्य हुने कानूनी व्यवस्था छ । त्यसैगरी निर्णय लिनुपर्ने अवस्थामा उपसभामुखले रास्वपाको भित्री निर्देशन अनुसार अवरोध गर्ने कुरालाई ख्याल गरेर ओली र देउवाले उनलाई बाहिर राख्न चाहिरहेका छन् ।
यसका लागि उपसभामुखलाई हटाएर उनको ठाउँमा कांग्रेसबाट ल्याउने खेलमा ओली र देउवा लागेको स्रोतले बतायो । यसका लागि दुवैजनाले आ–आफ्ना दलका सांसदहरुलाई खाली कागजमा सही गराएर राखेको बताइएको छ । यसरी सही नगर्ने भनी दुवै दलमा सांसदहरु पनि विभाजित अवस्थामा रहेका छन् ।
उपसभामुख हाल अमेरिकामा रहेका कारण यो विषयलाई उहाँ आउन्जेलसम्मका लागि स्थगित अवस्थामा राख्ने सहमति भएको पनि बताइएको छ । यो विषयमा पनि कांग्रेस र एमालेका बीचमा सहमति भए पनि सांसदहरु भने विभाजित छन् । कांग्रेसभित्र शेखर कोइराला तथा केही सांसदहरुले एक वर्षअघिको कुरालाई लिएर अहिले कुरा उठाइनु सान्दर्भिक नभएको भन्दै आएका बताइएको छ ।
यसैगरी एमालेका अध्यक्ष ओलीका कारण खुलेर बोल्न एमालेका सांसदहरुले नसके पनि यो तरिका ठीक होइन भन्ने आयस कतिपय सांसदहरुले दिन थालेका छन् । ओलीको विरोधी भन्ने छवि बनाउनु भएकी पूर्वराष्ट्रपति विद्या भण्डारी समर्थकहरु ओलीको यो कार्यको विरोधमा खुल्न थालेका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि गुटगत समस्यामा देखिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीका बीचको मनमुटावले गर्दा उक्त दल नै विभाजित अवस्थामा पुगेको छ । चौधरी समर्थकहरुले श्रेष्ठलाई पार्टीको अध्यक्षबाट नै हटाउने निर्णय गरेको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको छैन ।
पोखराको जग्गा काण्डमा विवादमा तानिएकी श्रेष्ठले आफूलाई बचाउने अश्त्रको रुपमा सत्तापक्षलाई देख्न थालेको बताइन्छ । सोही कारण उनले आफ्नो दलमा सरकारको पक्षमा राख्न अनुरोध गर्दै संसदमा निवेदन पनि दिएकी छिन् । उनले वर्तमान सरकारलाई आफ्नो दलको तर्पmबाट समर्थन रहेको भन्ने पनि उल्लेख गरेको बताइएको छ ।
उता, चौधरी समर्थकहरु श्रेष्ठको यो निवेदनबाट रुष्ट बनेको स्रोतले बताएको छ । सत्ता पक्षसँग नजिक भएर आफू र आफ्नो अनुकूलको निर्णय गराउन श्रेष्ठ लागेको चौधरी पक्षको बुझाइ छ । श्रेष्ठको निवेदनलाई सभामुखले कसरी व्याख्या गर्नु हुन्छ, त्यसमा भर पर्ने भनी भन्न थालिएको छ । सभामुखबाट जे जस्तो प्रतिक्रिया आए पनि त्यसले उक्त पार्टीमा भने विभाजनकै रेखा कोर्ने बताइएको छ ।
उता, प्रतिपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि गाँड कोराकोरको अवस्था छ । यस्तै अवस्था रहेमा राप्रपा फुटको अवस्थामा पुग्नेसम्मको विश्लेषण गर्न थालिएको छ ।
पूर्वराष्ट्रपति भएर पनि फेरि सक्रिय दलीय राजनीतिमा आउनु चाहनु भएकी विद्या भण्डारीको कारण दलहरुमा सन्त्रास छाएको छ । सम्मानित रुपमा स्वतन्त्र भएर बस्नुपर्ने भण्डारी एमालेको सक्रिय राजनीतिमा आउन चाहिरहनु भएको छ । उहाँले एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई विस्थापन गरी आफू एमालेको अध्यक्ष बन्न चाहिरहनु भएको छ ।
ओली तथा एमालेले यो चाहनालाई रोक्नका लागि संस्थागत रुपमा निर्णय नै गरेको छ । उहाँको सदस्यता नवीकरण नहुने तथा सक्रिय राजनीतिमा आउन नमिल्ने भनी एमालेले संस्थागत निर्णय गरेको अवस्थामा भण्डारी भने झनै सक्रिय देखिन थाल्नु भएको छ । भण्डारीले ओलीलाई विस्थापित गर्ने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्ने, कार्यकर्ता परिचालन गर्ने कार्य गर्दै आउनु भएको छ ।
भण्डारीले हिजो विहीबार काठमाडौंको थापाथलीमा आफ्नो सम्पर्क कार्यालयको उद्घाटन पनि गर्नु भएको छ । मदन भण्डारी फाउण्डेसनको नामबाट पछिल्लो समय सक्रियता देखाउँदै आउनु भएकी भण्डारीले आफू ‘माझ किराँतकी छोरी’ भन्दै उहाँले आफू पछि नहट्ने बताउँदै आउनु भएको छ ।
उता, प्रधानमन्त्री ओलीका लागि भारतले दिएको भ्रमणको निम्ता काउसो बन्ने देखिएको छ । भारत र चीन बसेर मंगलबार मात्र नेपाली भूभाग लिपुलेग, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफूखुशी प्रयोग गर्ने भनी सहमति गरेका छन् । यो सहमतिको नेपालमा सर्वत्रबाट विरोध भैरहेको छ ।
यस्तो बेलामा ओली भारतको भ्रमण नपाएर बसेको वर्ष दिनपछि हुने भनिएको भ्रमणमा यो विषयलाई उठाउनुपर्ने बाध्यता आइलागेको छ, ओलीलाई । ओलीले यही महिना भित्र चीन र त्यसलगत्तै भारतको भ्रमणमा जाने हुनु भएको छ । त्यसैले पनि यो सीमा विवादका विषयमा ओलीले आप्mनो तर्फबाट आवाज उठाउनै पर्ने हुन्छ ।
आवाज उठाउँदा चीन र भारत रिसाउने, नउठाउँदा विरोधको सामना गर्नुपर्ने भयमा ओली रहन थाल्नु भएको स्रोतले बताएको छ ।
आन्तरिक समस्यामा दलहरु: भण्डारीको सक्रियता बढ्दै, ओलीलाई भ्रमण काउसो
Facebook Comments Box
