काठमाडौ/ ससंदको राज्य व्यवस्था तथा प्रशासन समितिको सभापतिमा नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने सर्वसम्मत भएकी छन् । समितिको सभापतिका लागि काँग्रेसबाट थुप्रै नेताहरु चर्चामा भए पनि न्यौपानेले बाजी मारेकी हुन् ।
समितिमा रहेकाहरु दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाई, हृदयराम थानी र सभापतिबाट राजीनामा दिएका रामहरि खतिवडाको नाम चर्चामा थिए । काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा संसदीय सुनुवाई समितिको सभापति रहेकी न्यौपाने राजीनामा दिएर सर्वसम्मत बनेकी हुन् । काँग्रेसको भागमा परेको यो समितिको सभापतिबाट गत श्रावण २८ गते रामहरि खतिवडाले नैतिक जिम्मेवारीको प्रश्न उठेपछि राजीनामा गर्न बाध्य भएका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिमा रहेर निर्धक्क एवं दृढतापूर्वक काम गर्दै अगाडि बढेका खतिवडालाई निजामती विधेयकमा समावेश गरिएको कुलिङ अफ पिरियडको गडबडीबारे छानविन गर्न गठित जीवन परियार नेतृत्वको समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठह¥याएको थियो । त्यसलगत्तै राजीनामा दिएपछि समितिको सभापति रिक्त बन्न पुगेको थियो । संवैधानिक व्यवस्था अनुसार रिक्त रहेको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने व्यवस्था छ । त्यसैले काँग्रेसका शिर्ष नेताहरुको तीन दिनसम्म चलेको बैठकले न्यौपानेलाई सर्वसम्मत चयन गरेको थियो ।
आकांक्षी र चर्चामा रहेका बडू, थानी, बस्नेत तथा प्रसाईको नाममा सभापति देउवाले सहमति नजनाएपछि विकल्पका न्यौपानेले बाजी मारेको काँग्रेस समाचार श्रोतले जानकारी दिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुँदा बेहोर्न पर्ने अन्य थुप्रै चुनौतीहरु भए पनि निजामती विधेयकले संसद र सरकारलाई दाँतबाट पसिना निकालेको जानकारहरुले बताएका छन् । नवचिर्वाचित सभापति न्यौपाने काँग्रेसबाट सांसद बनेका महिलाहरुमध्ये क्षमतावान मानिन्छिन् ।
