काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत भदौ २३ गते सरकारी पक्षबाट भएको अत्यधिक बल प्रयोगको घटनालाई लिएर न्यायिक आयोग बनाउन माग गरेका छन् ।
यसैगरी भदौ २४ गते भएको घूसपैठपश्चातको आगजनी र तोडफोडको पनि छानविन गर्न आयोग बनाइनुपर्ने माग पनि शर्माले गरेका छन् । यसैगरी भ्रष्टाचारका विभिन्न मुद्दामाथि उच्चस्तरिय शक्तिशाली छानविन आयोग बनाउन र २०४६ साल यता उच्च पदमा पुगेका नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् ।
सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानविन आयोग गठन गरी तीन महिना भित्र प्रतिवेदन बुझाउन समय दिएको छ । समितिका अन्य सदस्यहरुमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् । कांग्रेसका महामन्त्री शर्माले उठाएको मागलाई अन्तरिम सरकारले बनाएको उच्चस्तरिय छानविन आयोगले छानविन गर्न सक्छ कि सक्दैन त्यो भविष्यले नै बताउला । कांग्रेसले उठाएको यी मागले धेरैको निदहरण हुने जानकारहरुले बताएका छन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबाट भौतिक आक्रमणमा परी स्वास्थ्य उपचार गराई रहनु भएका कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न दबाब शुरु भएको बताइएको छ । कांग्रेस बाहेक नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पनि नेतृत्व छाड्न नेता कार्यकर्ताहरुले परिवर्तनको माग उठाएर भेला, छलफल र लिखित प्रस्ताव पनि गरेका बताइएको छ ।
दल रुपान्तरणको लागि नेतृत्व हस्तान्तरण भन्दै कांग्रेसका दुई महामन्त्रीहरु गगन कुमार थापा र विश्वप्रकाश शर्माले बैठकहरु चलाई हस्ताक्षर अभियान शुरु गरेको जानकारी प्राप्त भएको छ । महामन्त्री थापाले कांग्रेसमा पुनर्संरचना र नेतृत्व परिवर्तन गर्न आफूले महामन्त्री पद समेत त्याग्न तयार रहेको भन्दै कांग्रेसमा आमूल सुधारका लागि सबैले पद छाड्न तयार रहनुपर्ने बताएका छन् ।
उता, कांग्रेसमा जनमत नभए पनि सभापति देउवाको आशीर्वादले समानुपातिक सांसद, मन्त्री बनेकाहरुले महामन्त्रीद्वयको प्रस्तावको विरोध गरेका छन् । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सोही कारण महामन्त्रीद्वयले विशेष महाधिवेशनबारे हस्ताक्षर अभियान चलाइनुपर्ने बताएका पनि स्रोतले दाबी गरेको छ । जेन–जी आन्दोलनबाट विक्षिप्त बनेको कांग्रेस नेतृत्व अझै पनि नसुध्रिने र नसच्चिने हो भने अर्को दुर्घटना आउन सक्ने भनी कांग्रेसवृत्तमा चर्चा चलेको छ ।
कांग्रेसले उठायो छानविन आयोगको माग
Facebook Comments Box
