लोकतान्त्रिक खेलकुद संघले मनायो संविधान दिवस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली कांग्रेसको कान्छो भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले संविधान दिवस मनाएको छ ।
कांग्रेसको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी संघले उक्त दिवस मनाएको हो । देशका अधिकांश ठाउँमा दीप प्रज्वलन गरिएको संघका महासचिव दीपक गुरुङले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ सालमा जारी भएको थियो । यो १० वर्षको अवधिमा संविधान संशोधनको आवश्यकता महशुस गरिएको देशभर आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले धारणा राख्नु भएको थियो । काठमाडौंको नागपोखरीमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले संविधानले अहिले पनि सबैका भावना समेट्नका लागि संशोधन आवश्यक रहेको बताउनुभयो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट देशमा क्षति पुगेको भन्दै युवाहरुले सार्वजनिक सम्पत्ति नष्ट गर्ने कुरा आफूले कल्पना पनि नगरेको बताउनु भयो ।
उक्त घटनाको छानविन हुनु पर्नेमा उहाँहरुले जोड दिनुभयो । नयाँ सरकारले संविधान जोगाउँदै आगामी फागुन २१ गते तोकेको निर्वाचनका लागि नेपाली कांग्रेस तयार रहेको पनि सो अवसरमा बताइयो । विगतका तीता कुराहरु विर्सिएर एक भएर चुनावमा जाँदा कांग्रेस फेरि पनि पहिलो र ठूलो शक्ति बन्न कसैले नरोक्ने भन्दै देशलाई निकास दिनका लागि कांग्रेस नै आवश्यक पर्ने भनी वक्ताहरुले धारणा राख्नुभयो ।
यसैगरी, केन्द्रीय सदस्य राधा घलेले जेन–जी आन्दोलनमा घुसपैठ भएको बताउँदै त्यसको छानविन गर्न माग गर्नुभयो । त्यस्तै, राजु श्रेष्ठ, लोकतान्त्रिक खेलकुद संघका महासचिव दीपक गुरुङले पनि धारणा राख्नुभएको थियो । सो अवसरमा शहीदप्रति एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
उता, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले पोखरामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै संविधानले सबै क्षेत्रलाई समेटेको बताउँदै अब हुने निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने अभियानमा सबै युवा र खेलाडीहरु लाग्नुपर्ने बताउनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *