देउवाबाट ओली–दाहालले सिक्नुपर्ने कुरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

पछिल्लो निर्वाचन परिणामले नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । संसददेखि प्रदेशसभा अनि स्थानीय निकायमा समेत कांग्रेसको उपस्थिति सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । यस्तो अवस्थामा उक्त दल तथा दलका नेताहरुले गर्ने निर्णयले मुलुकको नीति निर्माणमा मार्गदर्शन गर्ने गर्दछ । यस्तो अवस्थामा कांग्रेसका सभापति शेरबहादुर देउवाको बहुप्रतिक्षित निर्णय मंगलबारको कांग्रेसको केन्द्रीय समितिको बैठकमा आएको छ । देउवाले लिखित रुपमा ल्याएको वक्तव्यमा उहाँले कांग्रेसको राजनीतिमा अब आफू अभिभावकको रुपमा रहने गरी घोषणा गर्नु भएको छ । उहाँले आप्mनो कार्यकाल रहेकै अवस्थामा कार्यवाहक सभापतिका रुपमा उपसभापतिलाई तोक्नु भएको छ । मंगलबार ३४ दिनपछि सार्वजनिक हुनु भएका देउवाले का.वा.सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकी आफू सक्रिय राजनीतिबाट विदा लिने आशय व्यक्त गर्नु भएको छ । उहाँले का.वा.सभापतिको जिम्मेदारी अरुलाई नदिने चर्चा चलिरहेको थियो । यस्तो अवस्थामा गत भदौ २३ र २४ गतेको नवपुस्ताको चाहनालाई आत्मसात गर्दै आफ्नो सक्रियता घटाउने निर्णय लिनु भएको छ । उहाँले राजीनामा गर्नुपर्ने, महाधिवेशन गराउनुपर्ने जस्ता कुरा उठिरहेको अवस्थामा उहाँले सहज निकास दिनु भएको छ ।
नेपालको लोकतान्त्रिक व्यवस्थाको पर्यायको रुपमा रहेको कांग्रेस तथा कांग्रेसका नेताहरुले के कस्तो निर्णय लेलान् भनी सर्वत्र चासोका साथ हेरिन्छ । त्यसैले पनि देउवाको निर्णयलाई लिएर फेरि चर्चा र बहस शुरु भएको छ । त्यसो त कार्यवाहक सभापतिको चलन कांग्रेसमा नौलो होइन । यसअघि २०१७ सालमा तात्कालिक सभापति बी.पी.कोइरालाले सुवर्ण समशेर जबरालाई कार्यवाहक सभापतिको जिम्मेदारी दिनु भएको थियो । त्यसैगरी २०३४ सालपछि पनि कोइरालाले नै कृष्णप्रसाद भट्टराईलाई कार्यवाहकको जिम्मेदारी दिनु भएको थियो । भट्टराईले पनि १४ वर्षसम्म कार्यवाहकको जिम्मेदारी निभाएर २०४८ सालमा आफूलाई महाधिवेशनमार्फत सभापति बनाउनु भएको थियो । त्यसपछि कांग्रेसको सभापति बन्नु भएका गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक सभापति दिनु भएको थियो । सुशील कोइरालाले कार्यवाहकको जिम्मेदारी निभाएकै समयमा आफूलाई महाधिवेशनमार्फत सभापतिमा निर्वाचित गराउनु भएको थियो । त्यसरी सभापति भएकै अवस्थामा कोइरालाको निधन हुन पुग्यो । त्यसपछि उपसभापतिका रुपमा रहनु भएका रामचन्द्र पौडेल विधानतः कार्यवाहक सभापति बन्नु भयो । यसरी कांग्रेसको इतिहास हेर्दा कार्यवाहक सभापतिको चलन कांग्रेसमा नौलो होइन । यस पटक पनि सभापति देउवाले पछिल्लो जनचाहनालाई मध्यनजर गर्दै विधानतः उपसभापति खड्कालाई कार्यवाहक सभापति दिई आफूलाई पदलोलुपताबाट माथि रहेको सन्देश दिनु भएको छ ।
देउवाले कार्यवाहक सभापतिको जिम्मेदारी खड्कालाई दिएपछि त्यसले नेपालको राजनीतिमा नयाँ तरंग ल्याएको छ । त्यसो हुन्मा कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहनु पनि हो । यसैगरी पदबाट मुक्त हुन नचाहने नेताहरुको बोलवाला भइरहेको अवस्थामा देउवाको यो कदमलाई लिएर विभिन्न कोणबाट विश्लेषण गर्ने अवस्था आएको छ । मुख्य रुपमा दोस्रो ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) र तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) मा देउवाको निर्णयले असर पार्ने देखिएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले पनि पद नछोड्ने पक्षमा देखिनु भएको छ । उहाँहरुले पनि एकअर्कालाई देखाएर पदमा टाँसिने चाहना राखेको अवस्था छ । त्यसमाथि कांग्रेसमा देउवामाथि दबाब बढ्दा समेत देउवा नहल्लिने विश्लेषण गर्दै ओली र दाहालले आपूmलाई पदमा आसीन गराउने सोच राख्नु भएको थियो । त्यस्तो अवस्थामा देउवाले विपरित निर्णय गरी ओली र दाहाललाई चक्मा दिनु भएको छ । देउवाको यो निर्णयबाट ओली र दाहालले पनि पाठ सिक्नुपर्ने देखिन्छ । नयाँपुस्ताले चाहेको कुरालाई पूर्णरुपमा बेवास्ता गरी बस्ने कार्य गर्नु आफ्नै लागि पनि घातक हुने अवस्था उहाँहरुका लागि पनि लागू हुने अवस्था देखिन्छ । त्यसैले देउवाको जस्तै सिको गरी ओली र दाहालले पनि आफ्ना दलमा कार्यवाहकको जिम्मेदारी दिए उहाँहरुको भविष्य पनि थप आलोचनामुक्त हुने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *