खड्कालाई सभापति लड्न मार्ग खुल्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसको कार्यवाहक सभापति बन्ने मौका उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा लिखित सम्बोधन गरेपछि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका थिए ।
देउवाले ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु,’ लिखित सम्वोधनको अन्तिममा भनेपछि खड्का कांग्रेसको का.वा. सभापति बन्नु भएको हो । कांग्रेसमा कार्यवाहक सभापति दिने चलन पुरानो रहेको बताइएको छ । कार्यवाहक सभापतिको जिम्मेवारी पाउने पहिलो व्यक्तिमा सुवर्ण समशेर जबरा पर्नु हुन्छ । उहाँलाई २०१७ सालमा विश्वेश्वरप्रसाद कोइरालाले कार्यवाहक सभापति दिनु भएको कांग्रेस समाचार स्रोतले जानकारी दियो ।
तात्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्त गरी उहाँलाई जेल हाल्नु भएको थियो । त्यसरी जेलमा रहँदा कोइरालाले नेता जबरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि उहाँले केही वर्ष कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नु भएको बताइएको छ ।
त्यसपछि कोइराला नै २०३४ सालमा निर्वासनबाट फर्किएपछि पनि कार्यवाहक सभापति बनाउने कार्य गरेको कांग्रेस स्रोतले जानकारी दियो । त्यो बेला नेता कृष्णप्रसाद भट्टराईलाई का. वा. सभापतिको जिम्मेवारी दिइएको थियो । भट्टराईले २०३४ सालदेखि २०४८ सालमा झापामा भएको पार्टीको आठौँ महाधिवेशनसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
त्यसपछि गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको कांग्रेसमा इतिहास छ । कोइरालाले पार्टी एकीकरण भएपछि स्वास्थ्यका कारणले सुशील कोइरालालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । २०५९ साउन ७ गते फुटेको कांग्रेस २०६४ असार २३ गते पुनः एकीकरण भएपछि गिरिजाले सुशीललाई कार्यवाहक दिनुभएको थियो ।
सभापति सुशील कोइरालाको २०७२ साल माघ २६ निर्वाचित सभापति भएकै समयमा निधन भयो । त्यसपछि स्वतः तात्कालीन उपसभापति रामचन्द्र पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनु भएको थियो । पौडेलको नेतृत्वमा २०७२ फागुन २० देखि २४ गतेसम्म भएको १३ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनु भएको थियो ।
देउवा १४ औँ महाधिवेशनबाट पनि सभापति बन्नु भयो । देउवाले स्वास्थ्यको कारण देखाउँदै विधान अनुरुप उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेपछि अबको सभापतिमा खड्का पनि उम्मेदवार बन्ने चर्चा पनि चल्न थालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *